दैलेखमा रहेको ११ स्थानीय तहमा मतदानको तयारी पूरा भएको जनाईएको छ। सुरक्षाकर्मीसहित मतदान कर्मचारीहरु मतदान स्थलमा पुगेर तयारी पूरा भईसकेको जनाईएको हो।
दैलेखमा १ सय ३६ मतदान स्थलमा २ सय ७ मतदान केन्द्रका लागि आवश्यक तयारी पूरा भएको जनाईएको छ। सबै मतदान स्थलमा मतदानमा मतपत्र, मतपेटिका तथा आवश्यक सामानहरु पुगीसेका छन्। कर्णाली प्रदेशको सवैभन्दा बढी स्थानीय तह रहेको दैलेखमा सुरक्षा व्यवस्था पनि मजबुद बनाईएको छ। यहाँ चुनाव बहिष्कार गरेका विरोधी गतिविधि संलग्न रहेको नेकपा माओवादी बैध समुह सक्रिय रहेको छ।
त्यसलाई मध्यनगर गरेर सुरक्षा व्यवस्था कडाई गरिएको जनाईएको छ। दैलेखको पश्चिम क्षेत्रमा मतदान स्थलमा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा रणनिति योजना समेत बनाईएको दैलेख प्रहरीले जनाएको छ। दुई क्षेत्र रहेको दैलेखमा म्यादी र नेपाल प्रहरी प्रहरी १८ सय बढी खटिएका छन्। प्रत्येक स्थानीय तहमा दुई वटाका दरले ११ स्थानीय तहमा २२ वटा नेपाल प्रहरीको मोवाईल टोली खटिएको छ।
दुई क्षेत्रमा प्रहरीको रिर्जभ टोली र जिल्लामा तयारी अवस्थामा दुई टोली राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए। मोवाईल टोली, रिर्जव टोली र स्टेल बाई (तयारी हालको टोली) लाई अशान्ति भईरहेको मतदान स्थलमा आवश्यक बल प्रयोग गर्न पाउने अधिकार समेत दिईएको डिएसपी साहले बताए।
हरेक गाउँपालिकाका दुई दुई वटा टोली प्रहरी निरिक्षकको नेतृत्वमा मोवाईल टोली रहेको छ। एउटा टोलीमा कम्तिमा १५ जनादेखि माथि खटिनेछन्। त्यस्तै मतदान स्थलको भित्रिभागमा नेपाल प्रहरी, विचको घेरामा शसस्त्र प्रहरी र बाहिरि घेरामा नेपाली सेना खटिएको छ। कुनै पनि मतदान स्थलमा घटनामा भएमा २५ मिनेटदेखि १ घण्टासम्म थप टोली पुग्ने गरि सुरक्षा व्यवस्थापन मिलाईएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।
प्रकाशित: २९ वैशाख २०७९ ०५:५१ बिहीबार