२२ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

ताप्लेजुङका मतदान केन्द्रमा पुग्न थाले मतदान सामग्री

ताप्लेजुङमा मतदान गराउने जिम्मेवारी पाएका अधिकारीहरुले शनिवार दुर्गम स्थानमा पुग्ने मतदान सामग्री बुझेर लगेका छन्। 

दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले जानकारी दिए। 

उनका अनुसार दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङ लगायतका स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले मतपत्र सहितका सामग्री बुझेर लगेका छन्। याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोला लगायतका स्थानका लागि भने आइतवार सबेरै मतदान सामग्री बुझाउने तयारी भइरहेको दुलालले जानकारी दिए।

टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानहरूलाइ प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ९ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदान स्थल र १ सय २२ वटा मतदान केन्द्र रहेका छन्।  

मास्क,स्यानीटाइजरदेखि सियो र प्लाष्टिक सम्म

मतदान अधिकृतहरुले यो बर्ष ७१ वटा सम्म निर्वाचन सामग्री बुझेर लैजानुपर्ने हुन्छ। हेर्दा र सुन्दा सानो तर महत्वपूर्ण ठानिएका सामग्रीहरु निर्वाचनका क्रममा प्रयोग हुनेछन्। यो बर्षका स्थानीय तहको निर्वाचनमा अघिल्ला निर्वाचनहरुभन्दा बढी मास्क र स्यानीटाइजर थपिएका छन्। 

बर्षाको समय भएकोले मतपेटिका जोगाउन र सुरक्षित ढंगले सम्वन्धित निर्वाचन अधिकृतको कार्यालय सम्म पुर्‍याउन प्लाष्टिक समेतको प्रवन्ध गरिएको निर्वाचन कार्यालयले जनाएको छ। धेरै जिल्लाहरुमा निर्वाचन आयोगले ५५ किसिमका सामग्री आफैं पठाएको छ भने बाँकी सामग्री सम्वन्धित जिल्ला निर्वाचन कार्यालयले समेत व्यवस्थापन गर्ने छ।

यी चुनावी सामग्री मतदान केन्द्रदेखि मतगणनासम्म प्रयोगमा आउन सक्छन्। धेरै मतदान केन्द्रमा र केही सामग्री मतगणनामा समेत प्रयोग हुने अवस्था हुन सक्छ। सलाई, सियो, धागो, कोरा कपडाका थैला, डोरी, कालो र रातो रंगका कलम, पिन, एस्टाब्लर, पञ्चिङ मेसिन, लाहा, रबर र पित्तलको स्वस्तिक छाप, रंगिन र श्यामस्वेत फोटोसहितको मतदाता नामावली, मतपेटिका छेकबार, नेपाली कागज र फोटोकपी पेपर लगायतका सामग्री चुनावमा प्रयोगमा आउने सामान्य सामग्री हुन्।

प्रकाशित: २४ वैशाख २०७९ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App