२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई इमानदारपूर्वक पालना गर्न आग्रह गरेका छन्। नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै उनले संविधान रक्षाका लागि गठबन्धन भएकाले गठबन्धनका उम्मेदवार सबैलाई मतदान गर्न आग्रह गरेका हुन्।

बिहीबार रुपन्देहीको तिलोत्तमा  नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले संविधान र लोकतन्त्रको रक्षाका लागि मनलाई फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे। ‘वर्षौदेखि जय नेपाल भनेर रुखमा भोट हाल्दै आएका हामीलाई अरू पार्टीलाइ भोट माग्दा अप्ठ्यारो महसुस हुन सक्छ तर पनि संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि,देश र जनताको हितका लागि एकदिन मन थामेर तालमेलका उम्मेद्वारलाई मतदान गर्नुहोस्’ महामन्त्री शर्माले भने। ‘गठबन्धनमा रहेका अन्य दलका साथीहरूले पनि रुख चिन्हमा भोट हाल्दा इमानदार भएर राख्नुहुनेछ भन्ने विश्वास छ। त्यो विश्वास नतोड्नु होला’ उनले भने।

तालमेल भनेको विविधतामा  एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधता बिचको एकताकै कारण जीवन र जगत् सुन्दर रहेको पनि बताए। उनले भने, ‘जीवन भनेको विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ। यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्।’ स्थानीय निर्वाचनमा बहुसंख्यक सिटमा नेपाली कांग्रेस र तालमेलमा रहेका पार्टीका उम्मेदवारहरू विजयी हुने दावी शर्माले गरे।

नेपाली कांग्रेसको घोषणा पत्रका सम्बन्धमा निकै तल्लो स्तरको टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुद्रताको परिचय आफैं दिएको शर्माले टिप्पणी गरे। ‘एउटा पार्टीको अध्यक्ष भएको व्यक्तिले अर्को पार्टीको घोषणापत्रलाई पागलहरूको अलाप भन्छ भन्ने के त्यस्तो व्यक्ति र त्यस्तो व्यक्तिले नेतृत्व गरेको पार्टीप्रति तपाइको झुकाव रहन्छ? के त्यस्तो छुद्रता भाषाशैली व्यवहार भएको नेतृत्व र पार्टीलाई तपाई आदर्श मान्न सक्नुहुन्छ? कांग्रेस महामन्त्री शर्माले प्रश्न गरे। शर्माले कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरे। एमालेको घोषणापत्रमा भ्यूटावर छ, हाम्रोमा जनताको अनुहार देखिन्छ। युवा पुस्ताले भ्यू टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो। सबैले पढ्नुहोस् र विवेक पुर्‍याउनुहोस्’उनले भने।

महामन्त्री शर्माले ओलीले एमालेलाई क्विन्टल र अन्य दललाई किलोको संज्ञा दिएकोमा प्रतिवाद गर्दै एमाले क्विन्टलकै आलु  भए पनि कांग्रेस भने सुनको तोला भएको तर्क गरे। ‘ओलीजीले एमालेलाई क्विन्टल भन्नुहुन्छ, अन्य दललाई किलो। उहाँ क्विन्टल नै हो, तर हामी किलो होइनौं, तोला हौं, एक तोला सुनले कति क्विन्टल आलु आउँछ आफैं विचार गर्नुस्’ शर्माले भने।

उनले तिलोत्तमामा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले जारी गरेको प्रतिबद्धता पत्रको प्रशंसा गरे। तिलोत्तममा चक्रपथ निर्माणको योजना निकै उत्कृष्ट रहेको, प्रशासनिक भवनलाई अस्पतालमा रूपान्तरण गर्ने योजनाले जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन आवश्यक नरहेको भन्ने सन्देश दिएको बताए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एव लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले संविधान बचाउन गरिएको गठबन्धन दलका उम्मेदवारलाई निताएरै छाड्ने बताए। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको रक्षाका लागि गठबन्धन भएको उल्लेख गर्दै तालमेलका उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाउन आग्रह गरिन्। नेपाली समाजमा अझै महिलाहरूलाई माथि उठ्न नदिइएको बताउँदै यसको अन्त्यका लागि नेपाली कांग्रेसलाई तीन वटै तहमा विजयी बनाउन आगह्र गरिन्।

कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको बताए। प्रदेश सभा सदस्य रमा अर्यालले तिलोत्तमामा गठबन्धनको जित सुनिश्चित भएको बताइन्। तिलोत्तमा नगरपालिकाको  मेयर पदका उम्मेदवार कांग्रेसका रामकृष्ण खाणले नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन उम्मेदवारी दिएको बताए।

उनले तिलोत्तमामा एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, व्यवसाय कर कटौती, ३० युनिटसम्म विद्युत् निशुल्क व्यवस्था, इन्डक्सन चुलो खरिदमा ६० प्रतिशत छुट,फोहोरमा लिइँदै आएको कर मिनाह, भित्री सडक कालोपत्रे गर्दा जनताको पैसा नलाग्ने, महिलालाई स्वरोजगार एव आत्मनिर्भर बनाउने, सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। सबै दलको समान सहभागिताको लागि तालमेल गरिएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज पाण्डे (हेमन्त) ले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरे। कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सचिव हरि काफ्ले, माओवादी केन्द्रका तिलोत्तमा नगर इन्चार्ज बेलप्रसाद शर्मा लगायतले बोलेका थिए।

एमाले निर्वाचन परिचालन कमिटि सदस्य कांग्रेस प्रवेश

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटी सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटी सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। बिहीबार रुपन्देहीको तिलोत्तमामा आयोजित बृहत आमसभामा उनीहरू कांग्रेस प्रवेश गरेका हुन्। नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल लगायतले पार्टी सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका थिए।

प्रकाशित: २३ वैशाख २०७९ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App