८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

रोल्पाली चुनाव: विगत र वर्तमान

रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइट्याएर बनाएको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुवेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।

राजा महेन्द्रले सत्ता हातमा लिएपछि सूर्यबहादुर थापा–लाेकेन्द्रबहादुर चन्दको दोहोरीका बीचमा सँधै चुनाव जितेर जाने अनि गएपछि मन्त्री पक्कापक्की भएका व्यक्ति बालाराम घर्ति मगर हुन्। आफ्नो जीवनमा करिब दर्जनपटक चुनाव लडेका उनी बहुदलपछि पनि २०५१ सालमा राप्रपाका तर्फबाट ९ हजार ८२३ मत ल्याएर रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट क्षेत्र नं. १ मा बरमन बुढा ९६५६ मत र क्षेत्र नं. २ बाट सोही पार्टी कै कृष्णबहादुर महरा १२ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित भएका थिए। २०५१ मा बालाराम घर्ति क्षेत्र १ नं. बाट ९५२३ मत र क्षेत्र २ बाट नेपाली कांग्रेसका सुरेन्द्र हमाल १७ हजार ३९५ मत ल्याएर संसद भवन छिरेका थिए।

२०५६ मा आइपुग्दा दुबै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएर गएको थियो। क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका लेखनाथ आचार्य ६६९५ मत र २ बाट पुनः सुरेन्द्र हमाल ८३४४ मत ल्याएर निर्वाचित भएका थिए। यी ३ वटा चुनावको बीचमा देशमा द्वन्द्व उत्कर्षमा पुग्यो।

माओवादी विद्रोहले रोल्पालाई अनौठोसँग विकासमा पछाडि पार्‍यो। २०५२ देखि २०६३ सम्म रोल्पाका गाउँहरुमा सरकारी उपस्थिति प्रायः शून्य रह्यो। रक्तपात भयो, एकल महिला, टुहुरा, अनाथ, अपाङ्गको गन्ती हुन छाड्यो। सबै भावना शून्य जस्तै भए।

एक प्रकारले रोल्पाली आँसु सुक्यो। बुर्जुवा शिक्षाका कारण त्यो बीचमा रोल्पालीहरु स्कुल–क्याम्पस गएनन्। हातलाई मुठी पार्नु, माथि उठाउनु, अनि तल झारेर हात मिलाउनु, मित्रताको प्रतिक। सिकाइको सुरुवात र अन्त्य त्यही भयो। आशा जगाइयो, विश्वस्त पारियो, पछाडि हिँडाइयो, खाना खाइयो, जनतालाई पिढिमा सुताएर उनीहरुको बिस्तारामा सुतियो, अनि दिइयो आश्वासन।

यहीबीचमा रोल्पालीले खोजे जस्तै विभिन्न चरण पार गर्दै आयो गणतन्त्र। रोल्पाली खुसीले नाचे, गाए, खाए, चाउरिएका अनुहारमा कान्ती आयो। गुमेका आफन्तको सपना करिब–करिब साकार भएको अनुमान गरियो। अपाङ्गले अंग गुम्नुको पीडा भुले, घाइतेका घाउ दुख्न छाडे। यस्तै–यस्तै, आसै-आसमा २०६४ चुनाव भयो।

२०६४ को चुनावमा क्षेत्र नं. १ बाट महिला नेत्रृ जयपुरी घर्ति (नेकपा माओवादी) २६ हजार ५ सय ५ र क्षेत्र नं. २ बाट सोही पार्टीका पुष्पकमल दाहाल ३४ हजार २ सय २० मत ल्याएर छिरे सिंहदरबार। अब रोल्पामा हुन्छ हैँ। रोल्पालीले रोजेका, खोजेका व्यक्तिहरुका उपस्थितिमा सत्ता सुरु भयो। रोल्पाली हस्ती कृष्णबहादुर महरा मन्त्री बने।

दर्जन बढी रोल्पाली केन्द्रीय सदस्य रहेको नेकपा माओवादी सत्तासीन भएपछि दङ्ग परेका रोल्पालीहरु, दाहालले जितेका क्षेत्र मध्ये काठमाडौं रोजेर रोल्पा छोड्दा झसङ्ग भए। माओवादी सत्तामा पुगेको १ वर्ष पुगिसक्दासम्म रोल्पालीले सोचे अनुसारको कुनै पनि आशा लाग्दा गतिविधि भएनन्।

त्यसकारण माओवादी २०६५ को उप चुनावमा क्षेत्र नं. २ मा १४ हजार २ सय ८७ मत घटाएर १९ हजार ९ सय ३३ मा चित्त बुझाउन बाध्य भयो। २०६४ मा रोल्पाबाट निर्वाचित २ जना सभासद बाहेक रोल्पाले धेरै सभासद पायो। उतिबेला दाङ जितेका कृष्णबहादुर महरा, ललितपुरबाट जितेका वर्षमान पुन, काठमाडौंबाट जितेका झक्कु सुवेदी सबै रोल्पाली थिए।

त्यसैगरी समानुपातिकबाट खुमा सुवेदी, सन्तोषी विक, ओनसरी घर्ति, तारा घर्ति, जोखबहादुर महरा। यी सबै माओवादीबाट संविधान सभा भवन पुगे। २०४८ सालमा १ लाख १२ हजार १ सय ९१ रहेको मतदाता संख्या २०५१ मा १८ हजार ४ सय ४३, २०५६ मा १ लाख २४ हजार ६ सय ६२, २०६४ मा १ लाख ५३ हजार ९ सय ६६ थियो।

तर दूर्भाग्य, विविध कारणवस् २०७० मा मतदाता संख्या २०४८ सालको भन्दा पनि कम रह्यो ९४ हजार ४ सय ३७ मात्र। यही बीचमा ९४ हजार ४ सय ३७ मतलाई बाँड्न लालायित भए दलहरु। क्षेत्र नं. १ मा १५ जनाले ४१ हजार ८ सय ८६ मत भाग गरेर आफ्नो पोल्टामा थापे भने क्षेत्र नं.२ मा ११ जनाले ५२ हजार ५सय ५१ मत थापे।

विगतमा खासै विकास र जन–जीविकामा ध्यान दिन नसकेका कारण पछाडि परेका काग्रेस, एमाले, राप्रपालाई माओवादी जति ठूलो हाउगुजी थियो २०६४ मा, दोस्रोपटक त्यो अवस्था रहेन। कांग्रेस, एमालेले जतिपनि सकारात्मक भूमिका रोल्पामा निभाउन नसक्नु अनि पार्टी फुटका कारण माओवादीलाई चुनाव फलामको चिउरा बनेको थियो।

भुसको आगो बनेको पार्टी भित्रको अन्तरद्वन्द्वका बीचमा वैद्य पक्षीय असहयोगका कारण माओवादीले चुनाव आफ्नो पोल्टामा पार्न भगिरथ प्रयास गर्‍यो। कुनै समय लालकिल्ला रहेको रोल्पा आधा दशक नबित्दै एउटा निर्वाचन लड्नलाई यति ठूलो कष्ट हुनुको कारण खोतलेर आगामी दिनहरुमा सम्बोधन गर्ने वातावरण बन्यो भने वास्तवमा नै यसपटकको चुनाव रोल्पा र रोल्पालीका लागि खडेरीका पानी बनेर आउने थियो।

२०६४ मा २१ हजार ५ सय ५९ मत अन्तरले क्षेत्र नं.१ मा जित हासिल गरेको माओवादीले जित हासिल गरेपनि दोस्रो पटक उसको भागमा जम्मा ११ हजार ४ सय ७ मत परेको थियो। क्षेत्र नं. २ मा दाहालले २८ हजार १ सय ९१ मत अन्तरले जितेकोमा  १४ हजार ९ सय ६४ मा चित्त बुझाउनु परेको थियो। 

रगतको रातोसंगै लालकिल्ला भनेर चिनिएको रोल्पामा अघिल्लो स्थानीय निर्वाचनमा माओवादीलाई ठूलो चोट लाग्यो। पार्टी धुजा-धुजा भएर फाटेपछि रोल्पालीका मन पनि फाट्यो। यहाँका १० स्थानीय तह मध्य दुईमा एमाले र एउटामा कांग्रेसले विजय हासिल गर्यो। प्रदेश र संघको निर्वाचनमा माओवादीले जित हासिल गरेपनि चुनावमा हम्मे-हम्मे परेको थियो।

यतिबेला दैलोमै आएको स्थानीय तह निर्वाचनले फेरि रोल्पा तातेको छ। कांग्रेस विरासत फर्काउने ध्यानमा छ भने माओवादी विरासत जोगाउने। केन्द्रको गठबन्धन नमानेर कतिपय ठाउँमा कांग्रेसले एमाले र विप्लवसँग गरेको तालमेलले परिणाम बारे अन्यौलता थपेको छ।

गंगादेब, रुन्टीगढी, लुङग्री र सुनछहरी गाउँपालिकामा कांग्रेसले सहज जित हासिल गर्ने दाबी गरिरहँदा माडि र त्रिबेणी एमालेले आफ्नो पोल्टामा पर्ने बताएको छ। त्यसो त परिवर्तन र सुनिलस्मृती गाउँपालिकामा पनि प्रतिस्पर्धा कडा रहेको दाबी छ।

माओवादीको गढ मानिएको थवाङ र सुनछहरीमा स्वतन्त्रका उम्मेदवारको बलियो उपस्थितिले सबैको आँखा तानेको छ। रोल्पामा आफ्नो बलियो उपस्थिति रहेको माओवादीले सबै स्थानीय तह आफ्नो पोल्टामा आउने दाबी गरिरहेको छ। विभिन्न नेतृत्वको प्रतिष्ठा जोडिएको निर्वाचनले दिने परिणाम आफ्नो पोल्टामा पार्न नेताहरुको दौँडधुप कडा रहेको देखिन्छ।

गणतन्त्रपछिका विभिन्न कालखण्डमा रोल्पाली नेता कृष्णबहादुर महरा र ओनसरी घर्ती पटक-पटक मन्त्री हुँदै सभामुख बने। रोल्पाली अर्का पात्र नन्दबहादुर पुनः दोस्रो पटक उपराष्ट्रपति बने। वर्षमान पुन करिब करिब हरेक सरकारका मन्त्री बनिरहे। पुगेन भनेर लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा कुलप्रसाद केसी पनि पुगे तर जनजिविकामा कसैले चासो नदिएको रोल्पाली मतदाताको गुनासो रहेको छ।

प्रकाशित: २२ वैशाख २०७९ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App