१५ चैत्र २०८० बिहीबार
राजनीति

स्थानीय तह निर्वाचन २०७९ः भक्तपुरमा आआफ्नै हिसाबकिताब

स्थानीय तहको निर्वाचनमा भक्तपुरका ४ वटा नगरपालिकालाई प्रमुख पार्टीहरूले आफ्नो प्रतिष्ठा बनाएका छन्। भक्तपुर नगरपालिका फेरि पनि आफ्नो पोल्टामा आउनेमा नेपाल मजदुर किसान पार्टी ढुक्क छ। अन्य ३ नगरपालिका मध्यपुर थिमी, सूर्यविनायक तथा चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाबाहेक मध्यपुर थिमी, चाँगनारायण र सूर्य विनायकमा नेकपा (एमाले) विजयी भएको थियो। त्यसैले यसपटक त्यो विरासत जसरी पनि जोगाउने एमाले भक्तपुरका नेताहरूको तयारी छ। यता, नेपाली कांग्रेसका नेताहरू यसपटक भक्तपुरका सबै नपामा कांग्रेसका लागि परिस्थिति अनुकूल भएको व्याख्या गरेका छन्। यो बेला कम्तीमा ३ वटा पालिका जित्ने भक्तपुरका कांग्रेसका नेताहरूको योजना छ।

ज्वाइँ जेठानबीच नै प्रतिस्पर्धा

मध्यपुर थिमीमा मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरू आफ्नै ज्वाइँ जेठान हुन्। नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ जेठान हुन् भने एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ ज्वाइँ हुन्। ज्वाइँ जेठानको प्रतिस्पर्धा मध्यपुर थिमीका मतदाताहरूका लागि चिया गफको विषय बनेको छ। ‘उहाँ र मेरो राजनीतिक विचारधारा फरकफरक छ।

हामी दुई फरकफरक विचार र फरकफरक पृष्ठभूमि भएका पार्टीका उम्मेदवार हौ’ सुरेन्द्र श्रेष्ठले भने, ‘त्यसैले यो नयाँ विषय होइन।’ उम्मेदवार दिनुअघि उम्मेदवारी दिने विषयमा परिवारका सदस्यहरूबीच कुराकानी नभएको उनको भनाइ छ। ‘उम्मेदवारी दिनु अघि हामीबीच छलफल र कुराकानी भएन’ उनले भने। यस विषयमा एमालेका उम्मेदवार तथा सुरेन्द्र श्रेष्ठका ज्वाइँ मदनसुन्दर श्रेष्ठसँग सम्पर्क गर्न पटकपटक प्रयास गर्दा सम्पर्क हुन सकेन।

मध्यपुर थिमीमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ। जसअनुसार उपमेयरमा माओवादीका विजय श्रेष्ठले उम्मेदवारी दिएका छन्। तालमेलअनुसार ९ वटै वडाका १/१ जना वडा सदस्यमा माओवादी केन्द्रका नेताले उम्मेदवारी दिएका छन्। मध्यपुर थिमीमा मेयर पदमा नेमकिपाबाट आशाहरि प्रजापति र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस नगरपालिकामा एमाले, नेमकिपा र राप्रपाले भने एक्लाएक्लै उम्मेदवारी दिएका छन्। उपमेयर पदमा एमालेबाट उत्तरा नेपाल तथा नेमकिपाबाट दिवा बाडेले उम्मेदवारी दिएका छन्। पछिल्लो स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमीमा एमाले र नेमकिपाले चुनावी तालमेल गरेका थिए। जसअनुसार मेयरमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ विजयी भएका थिए। उपमेयरमा भने नेपाली कांग्रेस विजयी भएको थियो।

पछिल्लो स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमीका ९ वडामध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो। तर पनि मेयरमा एमाले विजयी भएको थियो। त्यस बेलाका एमालेका उम्मेदवार श्रेष्ठले यसपटक दोहर्‍याएर मेयरमा उम्मेदवारी दिएका छन्। एमाले भक्तपुरका अध्यक्ष वचन देउजा मध्यपुर थिमीमा पुनः एमाले विजयी हुने ठोकुवा गरे। नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मध्यपुर थिमीमा नेपाली कांग्रेस विजय हुने बताए।

फेरि आउला नेमकिपा?

भक्तपुरको भक्तपुर नगरपालिकामा फेरि पनि नेमकिपाकै झण्डा गाड्नेमा नेमकिपाका नेताहरू ढुक्क छन्। त्यसो त नेमकिपाका प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस र एमालेका नेताहरू भने ढुक्कका साथ ‘भक्तपुर नगरपालिकामा हामी जित्छौ’ भन्न सकेका छैनन्। भक्तपुर नपामा नेमकिपासँग प्रतिस्पर्धा हुन्छ मात्र भनेका छन्। ‘भक्तपुरमा नेमकिपासँग प्रतिस्पर्धा हुन्छ। अन्य ३ पालिकामा हामी जित्छौ’ कांग्रेस सभापति थापाले भने। यस्तै भनाई एमाले अध्यक्ष देउजाको छ। उनले भने, ‘भक्तपुरकका ३ नगरपालिकामा हामी फेरि विजयी हुन्छौँ। भक्तपुरमा भने नेमकिपासँग प्रतिस्पर्धा हुन्छ।’

भक्तपुर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले तालमेल गरेका छन्। जसअनुसार मेयरमा कांग्रेसबाट रामप्रसाद प्रजापति तथा उपमेयरमा समाजवादीबाट ओमचरण अमात्यले उम्मेदवारी दिएका छन्। यस नपामा एमाले र नेमकिपाले एक्लाएक्लै चुनाव लडेका छन्। नेमकिपाबाट मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशीले उम्मेदवारी दिएका छन्। 

यसैगरी एमालेबाट मेयरमा रविन्द्र लछिमन्यु र उपमेयरमा रञ्जना खर्वुजाले उम्मेदवारी दिएका छन्। ‘भक्तपुर नपामा हामीले धेरै नै काम गरेका छाैँ। भक्तपुरमा फेरि पनि नेमकिपालाई विजयी गराउनु पर्छ भन्ने मत सबैतिरबाट आएको छ’ प्रजापतिले भने, ‘त्यसैले हामी विजयी हुनेमा ढक्क छौ।’ प्रजापतिले पनि भक्तपुर नपाको मेयरमा दोहोर्‍याएर उम्मेदवारी दिएका छन्।

चाँगुनारायणमा एक्लाएक्लै

चागुँ नारायण नगरपालिका प्रमुख पार्टीहरूले एक्लाएक्लै चुनाव लडेका छन्। यस नपालमा एमालेबाट बिना बास्तोला तथा उपमेयरमा रमेश बुढाथोकीले उम्मेदवारी दिएका छन्। यसैगरी नेपाली कांग्रेसबाट मेयरमा जीवन खत्री र उपमेयरमा शुभद्रा काफ्लेले उम्मेदवारी दिएका छन्। यस नपामा राप्रपाबाट मेयरमा रविन्द्रप्रताप शाह र उपमेयरमा मञ्जु कार्कीले उम्मेदवारी दिएकी छन्। चाँगुनारायणमा नेमकिपाबाट मेयरमा केशवप्रसाद तिमिल्सना र उपमेयरमा कल्पना लामाले उम्मेदवारी दिएका छन्।

सूर्यविनायक नपामा भने नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गरेका छन्। जसअनुसार मेयरमा नेपाली कांग्रेसबाट निशान ढुंगेल र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट श्यामसुन्दर बस्नेतले उम्मेदवारी दिएका छन्। यसैगरी नेमकिपाबाट मेयरमा श्याम बिसुंके र उपमेयरमा धनपति खुशीमूलीले उम्मेदवारी दिएका छन्। सूर्यविनायकमा एमालेबाट मेयरमा वासुदेव थापा र उपमेयरमा सरिता भट्टराईले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २० वैशाख २०७९ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App