११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता भण्डारी उपमेयरमा स्वतन्त्र उम्मेदवार

सुदूर पश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा उपमेयर पदमा नेपाली कांग्रेसका नेता प्रभाकर स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्। सत्तारुढ दलहरूले धनगढी उपमहानगरपालिकामा गरेको गठबन्धन प्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्व जिल्ला कार्यसमिति कोषाध्यक्ष प्रभाकर भण्डारीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

उनको उम्मदारी फिर्ता दिलाउन कांग्रेसका नेता लगायत गठबन्धनमा रहेका दलका नेताले प्रयास गरे पनि उनले उम्मेदवारी फिर्ता नलिएका हुन्। ‘कांग्रेसको संगठन बलियो भएको धनगढी उपमहानगरपालिकामा स्थानीय नेता र कार्यकर्ताको भावनाविपरीत गठबन्धन भएकाले मैले उपमेयरमा स्वतन्त्र रूपमा चुनाव लड्न लागेको हुँ,’ उनले भने, ‘उपमेयरमा कांग्रेसको उम्मेदवार भएको भए मेरो उम्मेदवारी हुँदैनथ्यो, यसैले म बागी नभएर स्वतन्त्र उम्मेदवार हुँ।’

विसं २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका भण्डारी राजनीतिमा सक्रिय रहँदै आएका छन्। ‘म २०३६ सालमा बहुदलको पक्षमा प्रचार प्रसारमा खटिए, ०४२ सालमा सत्याग्रहमा पनि सहभागी भए, २०४६ साललगायत मैलै लोकतन्त्रका लागि धेरै संघर्ष गर्दै आए, तर पार्टीले अन्यायपूर्ण ढंगले टिकट वितरण गर्दा म सधैं अन्यायमा परेँ,’ उनले बताए।

कार्यकर्ताको आग्रह र भावनाबमोजिम आफू स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्न थालेको उनले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उनले आँप चुनाव चिह्न प्राप्त गरेका छन्। गठबन्धनबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रका शान्ति अधिकारी उम्मेदवार छन्।

सुदूर पश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदमा ९ जना र उपमेयर पदका लागि ७ जना चनावी मैदानमा छन्। मेयर पदमा कांग्रेस र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्द चुनावी मैदानमा छन्।

यसैगगरी जनता समाजवादी पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी र जनता समाजवादी पार्टीका मेयरपदमा उम्मेदवार छन्।

मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त उम्मेदवार छन। हमाललाई आँप, भट्टलाई लौरो र पन्तलाई कैची चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका छन्।

उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी चुनावी मैदानमा छन। उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता भण्डारी छन्।

सुदूर पश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रूपमा लिएका छन्। यहाँका १९ वटै वडामा बिभिन्न दलका उम्मेदवार चुनावी प्रचार प्रसारमा लागेका छन्। धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन्।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनभन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन्। धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए।

धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने छ भने स्वतन्त्र उम्मेदवार भण्डारीले काग्रेसका मत तान्न सकेमा उनी पनि प्रतिस्पर्धाको दौडमा पुग्ने छन्।

प्रकाशित: १८ वैशाख २०७९ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App