१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

तीन दलित महिला र एक महिला सदस्य निर्विरोध

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाचित भएका छन्।

गत ११ र १२ गते सबै पालिकामा एक हजार ४ सय ५६ जनाले मनोनयन दर्ता गराएका थिए। यीमध्ये १ सय २९ जनाले फिर्ता लिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको माई नगरपालिकामा ४५, फाकफोकथुम गाउँपालिकामा २०, इलाम नगरमा १९, चुलाचुली गाउँपालिमा १२, माइजोगमाई गाउँपालिकामा ११, सूर्याेदय नगरमा ८, देउमाई नगर र माङ्सेबुङ गाउँपालिकामा ४/४ तथा रोङ र सन्दकपुर गाउँपालिकामा ३/३ जनाले मनोनयन फिर्ता लिएका छन्।  

देउमाई, रोङ, माङ्सेबुङ, माइजोगमाई र सन्दकपुरमा ५ जना निर्विरोध निर्वाचित भए। देउमाई नगरपालिका १ को दलित महिला सदस्यमा नेकपा (एमाले)की विष्णुमाया दियाली निर्वाचित भइन्। यो पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएकी रमिला बराइली स्वास्थ्य स्वयंसेविका भएपनि राजीनामा नगरी उम्मेदवारी दिएकाले उनको उम्मेदवारी रद्द भयो। नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी गंगा दियालीले उम्मेदवारी फिर्ता लिइन्।  

रोङ गाउँपालिका ४ को महिला सदस्यमा एमालेकै मीनादेवी तामाङ, माङ्सेबुङ गाउँपालिका ६ को दलित महिला सदस्यमा एमालेकी धनकुमारी विश्वकर्मा र सन्दकपुर गाउँपालिका १ को दलित महिला सदस्य पनि एमालेकै दिलमाया कमिनी निर्विरोध निर्वाचित भए। यी वडामा दलित महिला सदस्यमा अरू उम्मेदवारी परेनन्। माइजोगमाई गाउँपालिका २ को दलित महिला सदस्यमा काङ्ग्रेसबाट रूपा (दियाली) विश्वकर्मा निर्विरोध भएकी छिन्। यही पदमा एमालेबाट उम्मेदवारी दिएकी कुमारी थामी दलित भएको पुष्टि हुन नसक्दा रूपाले बाजी मारेकी हुन्।  

बाँकी १ हजार ३ सय २० उम्मेदवारले आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। निर्वाचन कार्यालयको अन्तिम नामावलीअनुसार इलाम नगरको मेयर र उपमेयरमा ६/६, देउमाई नगरको मेयर र उपमेयरमा ५/५, माई नगरको मेयरमा ५, उपमेयरमा ४ तथा सूर्याेदय नगरको मेयर र उपमेयरमा ५/५ जनाले प्रतिस्पर्धा गर्दैछन्।  

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा ५, उपाध्यक्षमा ३, चुलाचुली गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा ५, फाकफोकथुमको अध्यक्षमा ४, उपाध्यक्षमा ३, माइजोगमाईको अध्यक्षमा ४, उपाध्यक्षमा २, माङ्सेबुङको अध्यक्षमा ३, उपाध्यक्षमा २ र रोङ गाउँपालिकाको अध्यक्षमा ६ तथा उपाध्यक्षमा ३ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछन्।  

निर्वाचन आयोगले वैशाख १६ साँझ ५ बजेसम्मको समयमा उम्मेदवारको मनोनयन फिर्ताको तालिका राखेको थियो। यो अवधिपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। अन्तिम नामावली सार्वजनिक गरेपछि आयोगले शनिबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ।

प्रकाशित: १७ वैशाख २०७९ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App