२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनगढीमा तीनजनाको मेयरमा उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा आइतबार तीन जनाले मनोनयन दर्ता गरेका छन्। आइतबार स्वतन्त्र उम्मेदवार गोपाल हमाल, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा र अर्का स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका हुन्।  

आइतबार बिहान साढे १० बजे स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गराएका थिए। धनगढीको ट्राफिक चौराहबाट बाजागाजासहितको समर्थकको र्‍यालीका साथ स्वतन्त्र उम्मेदवार हमालले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। यस्तै आइतबार दिउँसो लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार वसन्तबहादुर विश्वकर्मा र अर्का स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए। यसैगरी उपमेयरमा विवेकशील साझा पार्टीका उम्मेदवार विमला पन्त ओझाले मनोनयन दर्ता गराएका छन्।  

उम्मेदवारी दर्ता गराएपछि स्वतन्त्र उम्मेदवार हमालले प्रतिक्रिया दिँदै जनताको चाहनाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको उनले बताए। सबै जनताको साझा मेयर बनेर धनगढीलाई नमुना बनाउने बताउँदै उनले भने,‘राजनीतिक दलका नेताले बनाएको गठबन्धन बाँडीचुँडी खानका लागि भए पनि वास्तविक मतदाताले गठबन्धन गरेका छैनन्।’ धनगढीमा भ्रष्टाचार उन्मूलन गरेर ‘हाम्रो धनगढी, हामी बनाउँछौं’ भन्ने नारासहित जनताको चाहनाको प्रतिनिधित्व गरेर आफ्नो उम्मेदवारी रहेको उनले बताए। ‘जनताको विकासको चाहना नै मेरो जित्ने आधार हो,’ हमालले भने।

आफूले मेयरमा जितेपछि धनगढी उपमहानगरपालिकाबाट गाडी, तलब भत्ता, यातायात खर्चलगायत कुनै प्रकारको सुविधा नलिने हमालले घोषणा पनि गरेका छन्। मेयरमा जितेपछि धनगढीलाई देशमै नमुना नगर बनाउने उनले बताए। २०७४ को निर्वाचनमा वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए।

सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले भने आइतबार मनोनयन दर्ता गराएनन्। निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेकोमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गर्ने जनाएका छन्। सत्ता गठबन्धनको भागबण्डामा सहमति जुटी नसकेका कारणले आइतबार मनोनयन दर्ता हुन नसकेको हो भने नेकपा एमालेले पनि धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुङयाए पनि वडाअध्यक्ष र सदस्यहरूको उम्मेदवारीको टुंगो लगाइ नसकेका कारण सोमबार मनोनयन दर्ता गर्ने बताइएको छ। धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दिने भएका छन् भने उपमेयरमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ।  

यसैगरी, नेकपा एमालेको तर्फबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्तकला रानाले उम्मेदवारी दिने भएका छन्। सत्ता गठबन्धनका वडले अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार हमाललाई पराजित गरेर मेयरमा विजयी भएका थिए। नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका वडले पुनः मेयरमा चुनाव लड्न लागेका हुन्, भने एमालेका चन्द विद्यार्थी जीवनकालदेखि राजनीतिमा सक्रिय युवा नेता हुन्। उनी एमालेको जिल्ला सचिव, उपाध्यक्ष हुँदै गत पुस महिनामा जिल्ला अध्यक्षमा चार मतले पराजित भएका थिए। अहिलेसम्म लाभको पद नलिएका चन्द पहिलोपटक धनगढी उपमहानगरपालिकाको मेयर पदको निर्वाचनमा भिड्न थालेका हुन्।

धनगढीमा सत्ता गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

प्रकाशित: १२ वैशाख २०७९ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App