coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी

धरानमा चार दलीय गठबन्धनको पत्रकार सम्मेलन।

धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ। असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताहरुले बिहिबार धरान १५ स्थित होटल धरान किचनमा आयोजित चार दलीय गठबन्धनको पत्रकार सम्मेलन भइरहदा चर्को विरोध गरे।

उनीहरुको विरोधले पत्रकार सम्मेलन बीचैमा विथोलिएको थियो। धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धनको सहमति भएको छ। सहमतिको खाका सार्वजनिक गर्न गठबन्धनले बिहिबार पत्रकार सम्मेलन आयोजना गरेको थियो।

धरानमा चार दलीय गठबन्धनको पत्रकार सम्मेलनमै विरोध गर्दै कांग्रेस नेता, कार्यकर्ताहरु।  

धरानमा कांग्रेसले मेयरसहित १३ वटा वडा लिने सहमति गरेको छ भने माओवादी केन्द्रले उपमेयरसहित ४ वटा वडा पाउने सहमति दलहरुबीचमा छ। कांग्रेसको भागमावडा नं १, २, ५, ६, ७, ८ ९, ११, १२, १३, १४, १६ र १८ परेको छ। माओवादी केन्द्रले उपमेयरसहित ३, १५, १७ र २० वडा पाएको छ।

यस्तै, जसपाले वडा नं १० र १९ पाएको छ भने नेकपा एसले वडा नं ४ पाउने सहमति भएको छ। कांग्रेसका विभिन्न वडाका बुथ सभापतिहरुसहित आएका कार्यकर्ताहरुले उपमहानगर र क्षेत्रीय कार्यसमितिले आफूहरुसँग सल्लाह नगरि आफू खुशी वडाहरु भागवण्डा गरेको भन्दै विरोध जनाएका छन्।

उनीहरुको चर्को विरोधको कारण पत्रकार सम्मेलन केही समय तनावग्रस्त बनेको थियो। कांग्रेस कार्यकर्ताहरुले धरानको वडा १७, १५, १९ लगायत वडा कांग्रेसले छोडेकोमा चर्को विरोध जनाए। वडा नं १७ का कांग्रेस नेता नारद राईले कुनै पनि वडामा नसोधीकन गुट उपगुटको आधारमा भागवण्डा गरेकोले स्वीकार्य नहुने बताए।

उनले भने,‘बुथ सभापति, क्षेत्रीय प्रतिनिधिहरुलाई सोधेको भएपनि हुन्थ्यो। तर कसैलाई नसोधी गुट उपगुटको आधारमा भागवण्डा गरेको छ, त्यो हामीलाई सह्य छैन।’ कांग्रेस पूर्वजिल्ला सदस्य एवं वडा नं १५ का आकांक्षी अशोक राईले आफू ४० वर्षदेखि कांग्रेसमा निरन्तर खटिएको तर गठबन्धन गर्ने बेला नेताहरुले नसोधेको भन्दै आक्रोश पोखे।

उनले भने,‘आफ्नो स्वार्थको लागि गठबन्धन गरिएको छ, यस्तो हो भने हामी आफै चुनाव लड्छौ।’ कांग्रेसबाट मेयरका आकांक्षी नेता अजय राईले गठबन्धनको विरोध नभएर वडा भागवण्डा गर्दा सम्बन्धित बुथ सभापतिहरुसँग सरसल्लाह नभएकोले असन्तुष्टी प्रकट भएको बताए।

उनले भने,‘पार्टीको नेतृत्वहरुले गठबन्धनको नाममा वडा वडामा उम्मेदवारहरुका आकांक्षी साथीभाईहरुलाई परामर्श गरिएन, त्यसैको आक्रोश हो। जुन जुन वडामा आकांक्षी साथीभाईहरुको नाम माग्नु भएको छ, उहाँहरुलाई सम्बोधन हुनुपर्छ।’

कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले विरोध गर्ने नेता, कार्यकर्ताहरु पनि पार्टीप्रति चिन्ता नै प्रकट गरेको भन्दै छलफल गरेर समाधान गर्ने बताए। केन्द्र गठबन्धनको मापदण्डकै आधारमा धरानमा पनि भागवण्डा गरिएको भन्दै उनले मतभार, सांगठनिक अवस्था हेरेर गरिएको बताए। ‘सबै पार्टीको अस्तित्व स्वीकार गर्दै गठबन्धन गरेर जानुपर्ने आवश्यकता भएकोले भागवण्डा गरिएको हो, असन्तुष्ट साथीहरुसँग छलफल गरेर टुंग्याउछौ,’ थापाले भने।

चार दलीय गठबन्धनको सहमति पत्र।  

प्रकाशित: ८ वैशाख २०७९ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App