११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा चढ्यो चुनावी रंग

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गाउँगाउँमा राजनीतिक चहलपहल बढेको छ। प्रमुख दलका नेताहरू चुनाव केन्द्रित कार्य योजनासहित परिचालित हुन थालेपछि गाउँघरमा चुनावी रंग चढ्न थालेको छ।

प्रमुख सत्तारूढ दल कांग्रेसले मधेस प्रदेशका आठवटै जिल्लामा गाउँ जागरण कार्यक्रम सुरु गरेको छ। गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाइएको छ। केन्द्रीय प्रतिनिधिको अगुवाइमा जिल्लामा चुनावी कार्यक्रमलाई सक्रिय बनाइएको छ।

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारा लिएर कांग्रेसले चुनावलक्षित अभियानमा चुटेको छ। अभियान आगामी चैत २९ सम्म चल्नेछ । स्थानीय चुनावमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहाद्रता, एकता र ऊर्जा अभिवृद्धि गर्ने तथा कांग्रेस उम्मेदवारलाई विजयी गराउन नेताहरू जोडतोडले खटिएको नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले बताए। गाउँगाउँमा कांग्रेसप्रति जनउत्साह देखिएको छ। टिकटका लागि व्यापक दबाब बढ्दै गएको उनले बताए।

विगतको स्थानीय तह चुनावमा कांग्रेसप्रति उति धेरै उत्साह थिएन यादवले भने, ‘यसपालि मधेसमा कांग्रेसप्रति जनताको उत्साहले हामी हौसिएका छौं। यो लहरलाई अझ बढाउने प्रयत्न जारी छ, रहन्छ,’ उनले भने।

सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि चुनावी कार्य योजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँगाउँमा परिचालन गरेको छ। केन्द्रीय नेताहरू कार्यकर्ता प्रशिक्षण र गाउँ जागरण अभियानलाई तीव्रता दिएको छ। माओवादीले चुनाव केन्द्रित अभियानअन्तर्गत मधेस प्रदेशमा प्रशिक्षण कार्यक्रम र जिल्ला–जिल्लामा संगठन सुदृढीकरणलाई सँगै अघि बढाएको छ। चुनावी कार्ययोजना कार्यान्वयनका लागि मधेस प्रदेशमा गणेश साहलाई जिम्मा दिइएको छ।

नेकपा एकीकृत समाजवादीले पनि स्थानीय चुनावमा मधेस प्रदेशलाई केन्द्रित गरेर जबरजस्त उपस्थिति देखाउन सम्पूर्ण तागत लगाइरहेको छ। एसले गाउँटोलमा चुनावी अभियान सुरु गरेको छ।

मधेस प्रदेशको ठूलो दल जसपाको अखडा भनेकै मधेस हो। यो पार्टीले स्थानीय चुनावमा बलियो उपस्थिति देखाउन रणनीतिक रूपमा नेता–कार्यकर्ता परिचालन गरेको छ। जसपा केन्द्रीय सदस्यलाई स्थानीय चुनावका लागि भूगोल निर्धारण गरेर परिचालन गरेको छ। हरेक पालिकामा एक–एक केन्द्रीय सदस्यलाई चुनावी मोर्चा सम्हाल्ने गरी जिम्मेवारी सुम्पेको छ। जसपामा ४९९ जना केन्द्रीय सदस्य छन् ।

प्रतिपक्षी दल नेकपा एमाले मधेस प्रदेशमा आफ्नो साख फर्काउन हरेक राणनीति प्रयोग गरिरहेको छ। मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको मेयर विजय सरावगीलाई आफ्नो पार्टीमा भित्र्याएपछि एमाले उत्साहित बनेको छ। यो पार्टीको पहिलो निसानामा मधेसको ठूलो दल जसपा छ। जसपाका दमदार नेतालाई आफ्नो पार्टीमा भित्र्याउनु नेकपाको प्राथमकितामा छ। जसपालाई कमजोर बनाएर माथि उक्लिने दाउमा नेकपा छ।

एक ढिक्का मधेसी शक्ति (जसपा) फुटेपछि र जनमत पार्टी जसपामाथि जाइलागेको बेला एमालेको ‘मधेस मिसन’ फलदायी देखिन्छ। मधेसकै ठूलो दल जसपाभित्र मतभेद चुलिएको बेला यस पार्टीका असन्तुष्ट नेता तान्नु एमालेको चुनावी रणनीतिमध्ये एक हो। मधेस राजनीतिमा मूल्यमान्यता खस्केको बेला कतिबेला कस्को पल्ला भारी हुने ठेगान छैन। मधेस राजनीतिमा सिधान्तको क्षयीकरण र सत्तालिप्साको पराकाष्ठा नाघेको बेला को कुन कित्तामा लाग्ने यकिन गर्न नसकिने राजननीतिज्ञ खुसीलाल मण्डल बताउँछन्। उनी भन्छन्, ‘स्थानीय तहको चुनाव जतिजति नजिक आउँछ, मधेस राजनीतिमा उथलपुथल उति तेज हुँदै जान्छ।’  

‘स्थानीय चुनावमा मधेस केन्द्रित दल आफैंमा मत काटाकाट गर्न व्यस्त हुनेछन् जसको लाभ कांग्रेस, एमाले, माओवादीलाई मिल्नेछ,’ राजनीतिज्ञ मण्डलले भने। ‘जसपा र लोसपाबीच चुनावी तालमेल भए चुनावको दृश्य फरक हुनेछ तर यो बहुत मुस्किल छ,’ मण्डल भन्छन्, ‘यसपालिको चुनावमा अतिरिक्त लाभ कांग्रसलाई मिल्नेछ।’ २०७२ को मधेस आन्दोलनबाट एमाको मधेसबाट करिब करिब जनमत गुमिसकेको स्थिति थियो। तर मधेस केन्द्रित दलकै सत्तास्वार्थ कारण एमाले मधेसमा जोडदार ‘कमब्याक’ गरेको छ।

जनता फकाउँदै मन्त्री

स्थानीय चुनाव नजिकिँदै गर्दा टापु भनेर चिनिएको सप्तरीको गोबरगाढामा मन्त्री पुगेको छ। मधेस प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साह टापु गाउँको मत आफुतिर तान्न संसदीय कोषको रकमबाट सोलार किनेर पुगेका थिए। उनले ५८ परिवारलाई सोलार र बल्ब वितरण गरे।

गोबरगाढा गाउँ हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा पर्छ। यस नगरपालिकाका मेयर सैलेश साह मन्त्री साहका छोरा हुन्। बाबुछोरा दुबै जसपा पार्टीमा छन्। गोबरगाढाका जनता वर्षौदेखि टुकीको सहारामा जीवन बाँच्दै आएका छन्। अँन्ध्यारोमा कष्टपूर्ण जीवन बाच्न बाध्य यहाँका जनता जनप्रतिनिधिप्रति रुष्ट छन्।

स्थानीयले चुनावका बेला मात्र जनता याद आउने भन्दै आक्रोश पोखेका थिए। शिक्षा, स्वास्थ्य, खाद्यान्नका लागि कोसी नदी पार गरेर हुनमाननगर बजार पुग्नुपर्ने यहाँका बासिन्दाको साझा पीडा छ। गाउँ गाउँमा सरकार आएपछि गोबरगाढाबासीका लागि सरकार अझै सहरमै छ।  

यहाँका बासिन्दा वडाबाट हुने सरकारी सेवा लिन कोसी तरेर हनुमाननगर बजार नै पुग्नुपर्छ। मन्त्रीले स्थानीयको तारन्तार आक्रोशपूर्ण गुनासा सम्बोधन गर्न नसक्ने देखेपछि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने ढाड्स दिँदै फर्केका थिए।

प्रकाशित: ७ चैत्र २०७८ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App