१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाकस कसको खाली हुन्छ जनताले देखाइदिनेछन्: ओली

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट चुनाव जितेर पार्टी छाडेका नेताले जनप्रतिनिधिको पद त्याग गर्नुपर्ने बताएका छन् । उनले एमालेले चुनाव जिताइदिएपनि पार्टी त्यागेका जनप्रतिनिधि ‘लाजैबिना’ पदमा टाँसिइरहेको टिप्पणी गरे।  

पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचन जितेको इलामको क्षेत्र नम्बर १ स्थित फिक्कल बजारमा आयोजित एमालेको आमसभामा अध्यक्ष ओलीले खनाललाई नै इंगित गर्दै भने, ‘एमालेका जनताले जिताएर सांसद बनाइदिएको फुली अझै छात्तीमा टाँसेर हिँड्न लाजसरम छैन ? पार्टी नै छाडिसकेपछि त्यो फुली फुकाल्नुपर्दैन ?’  

उनले एमालेबाट चुनाव जितेर पार्टी छाडेका जनप्रतिनिधिले पनि जनप्रतिनिधिको ‘फुली’ लगाएर हिँड्न नमिल्ने बताए । उनले एमालेबाट चुनाव जितेर पार्टी त्यागेका नेताले मतदातालाई ढाँटेको र धोका दिएको प्रतिक्रिया दिए ।  

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालले केही दिनअघि एमालेको बाकस (निर्वाचनमा) खाली गर्नुपर्ने अभिव्यक्ति दिएकामा पनि ओलीले टिप्पणी गरे । उनले भने, ‘सूर्याेदयको जिल्लामा सूर्य चिह्नकै बाकस खाली गरिदिने कुरा आएछ । म अहिले केही भन्दिनँ, बाकस कसको खाली हुन्छ, आउँदो वैशाख ३० गते जनताले देखाइदिनेछन् । यो सहभागिताले देखाइदिनेछ।’  

अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताए । ‘चुनावमा एमालेले कसैसँग मोर्चा कस्दैन,’ उनले भने, ‘अहिले एउटा पाँचदलीय भन्ने गठबन्धन बनेको छ, एमालेसँग एक्लै त कसैले आँटै गर्न सक्दैन । एमाले एक्लै चुनाव लड्छ । सबैलाई जित्छ । एमालेलाई पाँच दल, सात दल चाहिँदैन ।’ उनले एमालेले मात्रै देशको विकास गर्ने दाबी पनि गरे।  

निर्वाचन आयोगले अहिले पाँचदलीय गठबन्धनको पक्षमा मात्र काम गरिरहेको ओलीको आरोप छ । चुनाव चिह्न, उम्मेदवारको मनोनयनलगायतमा आयोगले पाँचदलीय गठबन्धनको पक्षमा काम गरेका झल्किएको उनको भनाइ थियो । एमाले जिल्ला कमिटीको व्यवस्थापनमा सूर्याेदय नगर कमिटीले आयोजना गरेको आमसभामा जिल्लाका विभिन्न गाउँ–गाउँबाट एमाले नेता–कार्यकर्ता सहभागी भएका थिए। 

प्रकाशित: ६ चैत्र २०७८ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App