११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमसीसीबारे भ्रम चिर्न गृहमन्त्रीद्वारा कार्यकर्तालाई आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् उनले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाँणले एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी रहेको बताए। उनले भने, 'सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसिसीको पक्षमा उभिएर संसद्बाट अनुमोदन गर्न सफल भयो।'

गृहमन्त्री खाँणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसिसीबारे भ्रम फैलाएको बताए। उनले संसद्ले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसिसीमै भएकै कुरा उल्लेख भएको स्पष्ट पारे। गृहमन्त्री खाँणले आगामी निर्वाचन कांग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताउँदै भने, 'लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि कांग्रेसको जित आवश्यक छ।'

उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे। सरकार त्यस्ता शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताउँदै उनले मूलधारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पारे। उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गरे। कार्यक्रममा जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो।

गृहमन्त्री खाँणले जनही रु २५ हजार राशिको पुरस्कार प्रदान गरे। त्यस अवसरमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपसभापति हरि लम्साल, नेपाल पत्रकार  महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

यसअघि आजै गृहमन्त्री खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल कार्यक्रमलाई सम्बोधन गरेका थिए।

त्यस अवसरमा गृहमन्त्री खाँणले विद्यालयमा निर्माण भएको १२ कोठे तथा छ कोठे दुई वटा भवन र एचएम ल्याबको उद्घाटन गरे। नमूना विद्यालय अनुदान सहयोग र आन्तरिक स्रोतबाट ती भवन  निर्माण गरिएको हो।  यसैगरी मन्त्री खाँणले १६ कोठे भवनको शिलान्यास र विद्यालयको वार्षिक मुखपत्र ‘नानी’को पनि विमोचन गरेका थिए। रासस

प्रकाशित: २५ फाल्गुन २०७८ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App