२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धार्मिक ‘सर्किट’ बनाइन्छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले धार्मिक ‘सर्किट’ बनाउन लागिएको बताएका छन्। 

म्याग्दीको बेनी नगरपालिका–१ मा आजदेखि सुरु भएको ‘रत्नेचौर धार्मिक महोत्सव’ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र विन्धवासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको बताए।

'धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको हो', उनले भने, 'धार्मिकस्थललाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका छौँ।'

शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान सुरु गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले निर्माणाधीन कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बिनी तथा भारतका हिन्दू धर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजनाअघि सारिएको बताए।

मुख्यमन्त्री पोखरेलले गण्डकीका पर्यटकीय र धार्मिकस्थललाई पनि एकअर्कासँग जोडेर विकास गर्न थालिएको बताए। हिमाल र मधेसको समृद्धिमा एकअर्काको सम्बन्ध रहेको बताउँदै पोखरेलले कालीगण्डकी सभ्यता गण्डकीको समृद्धिको आधार भएको बताए।

लक्ष्मीहरि मन्दिरको २५औँ रजतजयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीको नक्षत्र शताब्दीको अवसरमा फागुन ३० गतेसम्म धार्मिक महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए।

लक्ष्मीहरि मन्दिरका संस्थापक जीयर स्वामीले रत्नेचौर मुक्तिक्षेत्रको प्रवेशद्धार भएकाले यसको धार्मिक र पर्यटकीय दुवै किसिमको महत्व भएको बताए। रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचारप्रसार र लक्ष्मीहरि मन्दिरको चौतर्फी विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष एवं मुल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए।

'तोरीबारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको सम्भावना छ', उनले भन, 'महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ।' भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धार रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताए।

हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो। मन्दिर स्थापना भएको २५ वर्ष र मन्दिरका संस्थापकाचार्य १०० वर्ष पूरा भएको अवसरमा आयोजित महायज्ञमा सङ्कलन हुने रकमलाई यस क्षेत्रको धार्मिक पर्यटन पूर्वाधार निर्माणमा परिचालन गरिने मूल आयोजक समितिका उपाध्यक्ष चीरञ्जीवी बोगटीले जानकारी दिए। रासस

प्रकाशित: २३ फाल्गुन २०७८ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App