७ वैशाख २०८१ शुक्रबार
राजनीति

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्। मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताएका हुन्।

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे।

उनले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भईरहेको दोहोर्‍याए। सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ।

जस अनुसार पहिलो किस्तावापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए। समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साँढे १ करोड बजेट लाग्नेछ। २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०७८ ०८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App