७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनका लागि गाउँ पसे दलहरू

दाङका १० स्थानीय तहमध्ये गत निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जित हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्‍यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो विरासत गुमेको महसुस गर्‍यो। कारण पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस आफ्नो गुमेको विरासत पुनः आफ्नो पक्षमा पार्न चाहन्छ। फलतः स्थानीय तहको निर्वाचनको तयारीमा यो दल सक्रिय बनिसकेको छ। जिल्लाका दसवटै स्थानीय तहमा आफ्नो पकड कायम राख्ने योजनाअनुसार कांग्रेस गाउँ केन्द्रित भइसकेको छ। कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी भन्छन्, ‘चुनाव लक्षित योजनाअनुसार हामी गाउँ केन्द्रित भइसकेका छौँ।’ 

त्यसो त, कांग्रेसलाई अहिले कम्युनिस्ट पार्टीमा आएको ‘छिन्नभिन्न’ ले पनि जिल्लाको बहुमत आफ्नो पक्षमा पार्ने अवसर पनि छ। तथापि कांग्रेसले यसलाई अवसर मान्दैन। आफ्नै संगठनको मजबुतीलाई उसले जितको एक मात्रै आधार मानेको छ। त्यसैले अहिले कांग्रेस चुनाव केन्द्रित अभियानअन्तर्गत संगठन विस्तारमा होमिएको छ।

‘हामीहरू टोल समिति गठनदेखि पार्टीका जिल्ला, क्षेत्रीय, नगरदेखि वडा समितिका बैठक नियमित गरिहेका छौं,’ कांग्रेस जिल्ला सभापति डाँगीले भने, ‘यी सबै छलफल अनि बैठक तथा टोल समिति गठनको अभियान चुनावी तयारीसँग सम्बन्धित कार्यक्रम हुन्।’ बिहीबार पनि कांग्रेसले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरेर चुनाव केन्द्रित छलफल गरेको छ।

दुई उपमहानगरसहित एक नगरपालिका तथा ३ गाउँपालिकामा आफ्नो नेतृत्व कायम गरेको एमालेले यो नतिजा गुमाउन चाहन्न। पार्टी विभाजनपछि आफूलाई कहीँ न कहीँ केही कमजोरी महसुस गरेको एमालेले पनि आफूलाई सवल पार्टीको रूपमा उभ्याउन उस्तै कडा कसरत थालिसकेको छ। एमालेले त चुनाव हुने निश्चितताको प्रचार गर्दै अहिलेदेखि नै गाउँगाउँमा पुगेर स्थानीय तहको निर्वाचनका लागि भोट माग्नसमेत थालिसकेको एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले बताए।

‘एमाले चुनाव पक्षधर पार्टी हो, यसर्थ चुनाव हुन्छ भनेर मतदाताहरूलाई ढुक्क बनाइरहेका छौँ,’ उनले भने, ‘आगामी चुनावका लागि सहयोग गर्नका लागि पनि हामीले मतदातालाई अनुरोध गरिरहेका छौँ।’ प्रदेशस्तरीय चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सकेको एमालेले यो कार्यक्रमलगत्तै आफ्नो सक्रियता गाउँ केन्द्रित गरिसकेको छ। उसले पनि आफ्नो संगठनलाई बलियो बनाउन तल्लो तहमा कमिटी गठन गरेर मतदाता गोलबद्ध पारिरहेको छ।

‘हाम्रो संगठनलाई बलियो बनाउन हामी गाउँगाउँमा प्रवेश गरेर कमिटी गठन गरिरहेका छौँ,’ एमाले अध्यक्ष बस्नेतले भने, ‘सँगसँगै चुनावी कुरा पनि मतादतासँग गरिरहेका छौँ।’ जिल्ला तहका पार्टी नेतृत्व मात्रै होइन, सिंगो लुम्बिनी प्रदेशमा चुनावी तयारी दलहरूले भरपुर थालिसकेका छन्। एमसिसी प्रकरणले मौन रहेका दलहरू यसको टुंगो लागेसँगै चुनाव केन्द्रित राणनीतिमा सक्रिय बनेका छन्।

कांग्रेस लुम्बिनी प्रदेशले सम्भावित उम्मेदवारबारेमा विश्लेषण गरिरहेको छ। सबै जिल्लालाई चुनाव केन्द्रित कार्यक्रममा लाग्न भनिसकेको र उम्मेदवार चयनका विषयमा समेत कांग्रेस प्रदेश समितिले छलफल गरिरहेको छ। ‘कसलाई उम्मेदवार बनाउँदा चुनाव जितिन्छ भन्ने विषयमा हामीले अध्ययन र छलफल गरिरहेका छौँ,’ कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने, ‘सकेसम्म राम्रो प्रभाव कायम गरेको व्यक्तिलाई उम्मेदवार बनाउनेगरी सबै जिल्लाका साथीहरूसँग छलफल भइरहेको छ।’

एमालेले पनि प्रदेशका सबै जिल्लालाई चुनावी माहोल निर्माण गर्न भनिसकेको छ। ‘चुनाव हुनुपर्छ’ भन्ने सन्देशसहित कार्यकर्तालाई गाउँ प्रवेश गर्न भनिसकेको एमाले लुम्बिनी प्रदेश समितिले प्रदेशमा आफ्नो पकड बलियो बनाउनेगरी चुनावी अभियानमा लाग्न जिल्ला समितिलाई भनिसकेको छ। एमाले लुम्बिनी प्रदेश समितिका सचिव लक्ष्मण आचार्य भन्छन्, ‘हामी स्थानीय तहको निर्वाचनका लागि गाउँ तहमा परिचालित भइसकेका छौँ।’

यता वर्तमान सत्ता गठबन्धनको अपेक्षामा रहेको नेकपा माओवादी केन्द्रले पनि चुनाव केन्द्रित तयारीलाई व्यापक बनाएको छ। गठबन्धनको अपेक्षामा रहे पनि अहिले भने आफ्नो एकल तयारीमा माओवादी गाउँमा खटिएको छ। उसले उम्मेदवार चयनको विषयलाई अहिले प्रमुखता दिएको छ। 

‘उम्मेदवार बन्ने सहमति भइसकेको स्थानमा हामीले आगामी निर्वाचनका लागि उम्मेदवार तयसमेत गरिसकेका छौँ,’ नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले भने, ‘जहाँ दुई, तीनजना उम्मेदवारका आकांक्षी हुनुहुन्छ, त्यहाँ भने समाजमा राम्रो प्रभाव राख्न सक्ने व्यक्तिबारे अध्ययन गर्न र क्षमतावान उम्मेदवार चयन गर्न मातहतका कमिटीलाई भनेका छौँ।’

त्यसो त, माओवादी केन्द्रको अहिले प्रदेश कमिटीका पदाधिकारी मनोनयन भइसकेका छैनन्। प्रदेशका कमिटी मनोनयन यसै फागुन महिनासम्म टुंग्याइसक्ने र त्यसपछि पार्टीले चुनावी अभियानलाई झनै तीव्रता दिने खनालको भनाइ छ। ‘प्रदेश कमिटीका पदाधिकारी मनोनयन टुंगिन बाँकी छ, यसै महिनाभित्रै हामीले टुंग्याइ सक्छौँ,’ उनले भने, ‘त्यसपछि हामी सांगठनिकरूपमा अझ सशक्त भएर जानेछौँ।’

प्रदेश कमिटीले अहिले गाउँपालिकास्तरीय छलफललाई तीव्रता दिन भनेको छ। फलतः अहिले पालिकास्तरीय चुनाव केन्द्रित छलफलहरू व्यापकरूपमा भइरहेको खनालले बताए। ‘हाम्रो जिल्ला कमिटी भनेको समन्वयात्मक कमिटी जस्तै हो, पालिकास्तरीय कमिटीसँगै सिधै प्रदेशको सम्बन्ध हुने हाम्रो पार्टीको विधान छ,’ खनालले भने, ‘फलतः प्रदेश कमिटीले अहिले पालिकालाई चुनावी रणनीति बनाउन व्यापक छलफल गर्न भनेका छौँ र अहिले धमाधम पालिकास्तरीय छलफल भइरहेका पनि छन्।’

यसैगरी, माओवादीले अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउने रणनीति बनाएर अघि बढेको छ। खनाल भन्छन्, ‘प्रदेशका धेरै जिल्लामा अन्य पार्टीका नेता कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ। हामीले पार्टी प्रवेश कार्यक्रमलाई पनि चुनाव केन्द्रित अभियानसँग जोडेका छौँ।’

उसो त, अहिले माओवादीले गठबन्धनमाथि पूर्ण विश्वास गरिसकेको छैन। त्यसले गर्दा अहिले आफ्नो पार्टीको आन्तरिक तयारीलाई मात्रै हेरेको छ। ‘गठबन्धन हुने नहुने निश्चित छैन, फलतः हामीले पार्टीको आन्तरिक तयारीलाई तीव्र पारिरहेका छौँ, उम्मेदवार चयनको प्रक्रियामा छौँ,’ खनालले भने, ‘तर भोली गठबन्धन हुने अवस्था आयो भने त्यहीअनुसार व्यवस्थापन गरेर अघि बढ्ने कुरा हुन्छ।’

नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत नेकपा समाजवादी पनि वडा तहसम्मै चुनावी तयारीमा सक्रिय बन्दै गएको छ। तर गठबन्धनकै भरमा रहेको यो पार्टीले गठबन्धन नभत्कने गरी तयारीमा लाग्न तल्लो तहका कमिटीलाई भनेको छ।

‘जिल्लादेखि वडा तहसम्म नै गठबन्धनलाई समस्या नपर्नेगरी चुनावी तयारी थाल्नुस् भनेर हामीहरूले प्रदेशका सबै जिल्लाका साथीहरूलाई भनिसकेका छौँ,’ यो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले भने, ‘त्योअनुसार साथीहरू लागिरहनु भएको छ।’ यसैगरी, एमसिसीबारेमा ‘तथ्य’ कुरा मतदातालाई बुझाउने योजना बनाएको यो पार्टीले यो अभियानलाई पनि चुनावसँगै जोडेको छ। चौधरीले भने, ‘अहिले एमसिसीबारे धेरै कुराहरू आइरहेका छन्, यो एमसिसी के हो र यो कसरी पास भयो भन्ने विषयमा हामीले आमनागरिकलाई प्रष्ट पार्नु जरुरी छ, हामी तत्काल यो अभियान लिएर प्रदेशका १२ वटै जिल्लामा पुग्दैछौँ।’

यसैगरी, वर्तमान गठबन्धनमा रहेका जनता समाजवादी दल पनि चुनावी रणनीति निर्माणमा सक्रिय बनेको छ। उसले विभिन्न जिल्ला बैठक आयोजना गरेर चुनावी योजना बनाउनुका साथै सम्भावित उम्मेदवारलाई समेत आ–आफ्नो तयारी गर्नसमेत भनिसकेको छ। ‘हामीहरू चुनावी रणनीतिक योजनाकै क्रममा विभिन्न जिल्लाको बैठक गरिरहेका छौँ,’ जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले भने, ‘अनि सम्भावित उम्मेदवारलाई पनि आआफ्नो तयारीमा लाग्नुस् भनेर पनि भनेका छौँ।’

आगामी २१ गते यो प्रदेश पदाधिकारीको बैठक बसेर थप चुनावी रणनीति बनाउने यादवले बताए। ‘प्रदेशका पदाधिकारीको बैठक गरेर कसरी अगाडि जाने भन्ने बारेमा रणनीति बनाउँदैछौँ,’ यादवले भने, ‘प्रदेशको यो रणनीति आगामी २८ देखि ३० गतेसम्म चल्ने जसपाको संघीय परिषद्को बैठकमा पनि छलफलका लागि पेस गर्नेछौं।’ आफूहरूले गठबन्धनको आयुबारेको आधिकारिक निर्णय कुरेर बसेको र सोहीअनुसार पनि आफूहरूको योजना बन्ने यादवको भनाइ छ।  

प्रकाशित: २० फाल्गुन २०७८ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App