७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेस राजनीतिमा सिके सकस

सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनको नाममा करिब डेढ महिना पूर्व–पश्चिम राजमार्गमा आवागमन अस्तव्यस्त बनायो। माघ २२ गतेदेखि राजमार्ग केन्द्रित आन्दोलन स्थागित गरी जनमतले स्थानीय तह केन्द्रित अभियानलाई अघि बढाएको छ।

कृषि र किसानसँग जोडिएका एक दर्जन मुद्दालाई अजेन्डा बनाएर राजमार्ग केन्द्रित हडताल गरेका राउत नेतृत्वको जनमत पार्टीले यो मामिला सम्बोधन नभए चुनाव बिथोल्नेसम्मको तयारी गरेको छ। 

राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।

किसानको मुद्दालाई सिँढी बनाएर राजनीति चम्काउने लालसा नभएको उनको भनाइ छ। ‘मधेसमा मुद्दालाई सिँढी बनाएर सत्तामा उक्लिने प्रवृत्तिका कारण कतिपयको दिमागमा त्यो छाप परेको हुनसक्छ। किसानको मुद्दा मेरो मात्रको होइन।

सम्पूर्ण मधेसका किसानको हो,’ उनले भने, ‘यो मुद्दा सम्बोधन नभएसम्म न हामी चुवामा सहभागी हुन्छौं न मधेसमा चुनाव हुन दिन्छौं। अरू ठाउँको त भन्न सक्दिन तर मधेसमा चुनाव भए हामी अवरोध गर्छौ।

राउतको यो उद्घोषले मधेसमा भिडन्तको खतरा बढाएको छ। राउतको पार्टीले मधेसमा प्रमुख तारो यहाँको सत्तारुढ दल जसपा नै बनेको छ। त्यसले गर्दा जनमत र जसपाबीच तिक्तता यतिविध्न बढेको छ कि मधेसमा कुनै बेला अप्रिय स्थिति बन्न सक्छ।

जसपा र जनमत पार्टीको टकरावले मधेसमा राजनीतिक, समाजिक तनावसँगै शान्तिसुरक्षामा समेत असर पर्ने सुरक्षा अधिकारीहरू बताउँछन्। जसपाको लोकप्रियता कमजोर भएको मौका छोप्दै राउतको पार्टीले जसपामाथि टार्गेट गरेको छ। 

२०७५ फागुन ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै राउत ‘स्वतन्त्र मधेस गठबन्धन’ विघटन गर्दै मूलधारको राजनीतिमा अवतरित भए। राउतले सो गठबन्धन विघटन गरेको विषयलाई ओलीले अहिले पनि आफ्नो कार्यकालको एक प्रमुख उपलब्धिको रूपमा उल्लेख गर्दै आएका छन्।

२०७७ चैत ४ मा लहानमा भएको राष्ट्रिय परिषद् बैठकमार्फत राउतले जनमत पार्टी गठन गरे। नयाँ पार्टी गठन गरेपछि सामान्य राजनीतिक गतिविधि गर्दै आएको राउतको पार्टीले २०७८ कात्तिक ४ मा जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहलाई मोसो दलेर हिलो छ्याप्दै नगर परिक्रमा गराएर उग्र गतिविधि सार्वजनिक गरे। ‘भ्रष्टाचार गरेकाले कुशवाहलाई ‘जनकारबाही’ गरिएको सो पार्टीको तर्क थियो। त्यसपछि राउतको पार्टी निरन्तर आफ्नो उपस्थिति देखाउन गराउन ‘भ्रष्टाचार र किसान कार्ड’ फ्याँक्दै मधेसमा शक्ति देखाउन प्रयत्न गरिरेको छ।

मधेसमा राजनीति चम्काउन कसरत गरिरहेका सिके राउत मधेसको मूल मुद्दाबाट बिमुख्ख भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। पहिचान, प्रतिनिधित्व, सहभागीता, नागरिकता, समानुपातिकता, समावेशीतालगायतका मागबाट उनी विमुख छन्।

काठमाडौंको सत्तासँग राखिँदै आएका यी माग पूरा गराउन मधेसमा पटक–पटक बलिदानीपूर्ण आन्दोलन भएका छन्। आन्दोलनका क्रममा करिब डेढ सय बढीले ज्यान गुमाएका छन्। आन्दोलनपछि पटक–पटक सरकारसँग सम्झौता भएका छन्। तर अहिलेसम्म पनि सम्झौता कार्यान्वयनका विषयमा सिंहदरबार र मधेसबीचमा कुरा मिल्न सकेको छैन।

संघीयतासहितका केही मुद्दा सम्बोधन भएका भएका छन्। केही मुद्दा अझै बाँकी छन्। नागरिकतासहितका समस्या अहिले पनि समाधान हुनसकेको छैन। जसका निम्ति अहिले पनि मधेसी दलहरूले संविधान संशोधनको माग उठाइरहेका छन्।

मधेसलाई स्वतन्त्र बनाउने अभियानबाट राजनीतिक यात्रा सुरू गरेका राउतले जनमत पार्टी बनाएपछि पहिलो पटक भ्रष्टाचार मुद्दालाई उठाए। त्यसपछि उनी किसानका मुद्दा उठाएर पार्टी राजनीतिलाई समग्र मधेसीको जनजीविकासँग जोड्ने प्रयास गरिरहेका छन्। सिके राउतकै कारण विगतमा पनि मधेसमा सकस बढेको थियो। अहिले पनि बढिरहेको छ।

प्रकाशित: २७ माघ २०७८ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App