४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्य। (बायाँबाट क्रमशः जगत पार्की, नारायणदत्त मिश्र (बीचमा) र मदनकुमारी शाह ‘गरिमा’ (दायाँ)। तस्बिरः पुष्पराज/नागरिक

राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि बुधबार भएको निर्वाचनमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। खुलातर्फ कांग्रेसका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा एकीकृत समाजवादीका मदनकुमारी शाह ‘गरिमा’ र दलिततर्फ नेकपा माओवादी केन्द्रका जगत पार्की विजयी भएका हुन्।  

मिश्र ३ हजार ७ सय ४४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १ हजार ८ सय ६६ मत प्राप्त गरेका छन्। मिश्रलाई ५२ प्रदेश सभा सदस्य मध्ये ३९ जनाले मतदान गरे भने स्थानीय तहका १ सय ७५ मध्ये १ सय ४ जनाले मतदान गरेका थिए। यसैगरी भट्टलाई १३ जना प्रदेश सभा सदस्य र स्थानीय तहका ६९ जनाले मत दिएका थिए। खुलातर्फ स्थानीय तहको २ मत वदर भएका थिए। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहको मतभार १८ रहेको छ। यसैगरी महिलातर्फ नेकपा एकीकृत समाजवादीका शाहले ३ हजार ८ सय ३४ मत प्राप्त गरि विजयी भएकी हुन्।

उनकी प्रतिद्वन्द्वी सन्तोषकुमारी शर्माले १ हजार ७ सय २८ मत प्राप्त गरेकी छिन्। शाहले  प्रदेश सभा सदस्यका ३९ मत पाएकी थिइन् भने स्थानीय तहका १ सय ९ मत पाएकी थिइन्। शर्माले प्रदेश सभा सदस्यका १२ र स्थानीय तहतर्फ ६४ मत पाएकी थिइन्। महिलातर्फ प्रदेश सभाको १ मत र स्थानीय तहका दुई मत बदर भएका थिए।  

दलिततर्फ माओवादी केन्द्रका पार्कीले ३ हजार ७ सय ६२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले १ हजार ७ सय ८२ मत प्राप्त गरे। पार्कीलाई प्रदेश सभाका ३९ र स्थानीय तहका १ सय ५ जनाले मतदान गरेका थिए। विकलाई प्रदेश सभा सदस्य १२ र स्थीय तहका ६७ जनाले मत दिएका थिए।  प्रदेश सभा सदस्यको १ मत र स्थानीय तहको ३ मत बदर भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए।  

बुधबार धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभा भवन परिसरमा मतदान भएको थियो। बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो। मतदान प्रक्रिया सकिएलगत्तै मतगणना भएको थियो। मतदान स्थलमा दुई मतदान केन्द्र राखिएएको थियो। प्रदेश सभा सदस्यलाई मतदान गर्न मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र ‘ख’मा मतदान गर्ने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए।  

सुदूरपश्चिममा आगामी फागुन २० गते पदावधि सकिनेमा राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्ट रहेका छन्। २०७५ असार ४ गते गोलाप्रथा गर्दा तीनै सदस्यको कार्यकाल ४ वर्षमा परेको थियो। राष्ट्रिय सभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाइ हुँदैछन्। १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन् भने १९ पदका लागि ७ वटै प्रदेशमा निर्वाचन भएको हो।

प्रकाशित: १२ माघ २०७८ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App