४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनीमा ‘घुम्न जाउँ बर्दिया’ अभियान

घुम्न जाउँ अभियानको उद्घाटन गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने लगायत।

पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार तय गरेको लुम्बिनी प्रदेश सरकारले यो बर्ष बर्दियाको पर्यटन विकासलाई प्राथमिकतामा दिएको छ। एक वर्षभरि बर्दियामा पर्यटकहरि भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकार उद्योग,पर्यटन तथा यातायात मन्त्रालयले घुम्न जाउँ अभियानको सुरुवात गरेको छ। यो अभियान अन्तर्गत मन्त्रालयले बर्दियामा पर्यटकहरूलाई पुर्याउनका लागि प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयले बाघ हेर्नका लागि बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्यको सुचीमा राख्दै मन्त्रालयले बर्दिया केन्द्रित पर्यटन प्रवर्धनको कार्यक्रम सुरुवात गरेको हो। लुम्बिनी प्रदेश सरकारले यो बर्ष घुम्न जाउँ बर्दिया अभियानलाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको थियो। सरकारको नीति तथा कार्यक्रममै समावेश यो अभियानको बिहीबार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे।

बर्दियाको ठाकुरद्वारामा भएको अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए। घुम्न जाउँ बर्दिया अभियान प्रदेशमा पर्यटकहरूलाई भित्र्याउने लक्ष्य अनुरूप सुरुवात गरिएको भन्दै मुख्यमन्त्री आचार्यले यो अभियानलाई सार्थकता दिन सबै एक भएर लाग्नु पर्नेमा जोड दिए।

पर्यटन व्यवसाय सञ्चालन गर्दा प्रदेश सरकारले निर्माण गरेका कानुनहरूले बाधा उत्पन्न गराएको भए त्यसलाई संशोधन गरेर पर्यटनमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए। ‘घुम्न जाउँ बर्दिया अभियान बर्दियाको पर्यटकीय क्षेत्रको विकासका महत्त्वपूर्ण अभियान हो,’ मुख्यमन्त्री आचार्यले भने ‘साथै यो अभियान समग्र प्रदेशको पर्यटन विकासका लागि कोशेढुंगा साबित बन्ने छ भन्ने विश्वास सरकारले लिएको छ।’

यसै गरी अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बर्दिया पर्यटकीय दृष्टिकोणले मुलुककै उत्कृष्ट थलोका रुपमा रहेको भन्दै बर्दियालाई केन्द्रित गरेर पर्यटकहरि भित्र्याउने लक्ष्य मन्त्रालयले लिएको बताए। साथै उनले लुम्बिनीमा भित्रिने पर्यटकहरूलाई बर्दिया सम्म पुर्‍याउने लक्ष्य मन्त्रालयले लिएको बताए। साथै उनले पर्यटन विकासका लागि निजी क्षेत्र सँगै सरोकार वाला पक्षहरूले समेत साथ दिनु पर्ने बताए।

‘लुम्बिनी प्रदेशमा भित्रिने हरेक पर्यटकहरूलाई बर्दिया सम्म पुर्‍याउने लक्ष्य मन्त्रालयले लिएको छ,’ मन्त्री न्यौपानेले भने ‘यहाँ आउने पर्यटकहरूका लागि यहाँको वातावरण पनि पर्यटक मैत्री हुनु पर्छ, यसका लागि निजी क्षेत्र तथा पर्यटन सँग सम्बन्धित सरोकारवाला पक्षहरूले सहजीकरण गर्नुपर्छ ।’ मन्त्री न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गरिएको समेत बताए।

एक बर्षे अभियानमा सरकारले बर्दियाका पर्यटकीय थलोहरूका बारेमा पर्यटकहरूलाई जानकारी दिने गरी प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। पर्यटकहरूका लागि बर्दियाको प्रमुख आकर्षण यहाँ पाइने बाघ हो। बाघ हेर्नका लागि बर्दियामा पर्यटकहरू बढ्ने गरेका छन्। जङ्गल सफारी गरेर बाघ लगायतका जङ्गली जनावर हेर्न सकिने यो जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ । यसै गरी बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ। यो घाटमा डल्फिन देखिने गरेको छ।

यसै गरी बर्दियामा कृष्णसार देख्न सकिन्छ । कृष्ण सार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल गरिँदै आएको छ । यसका साथै जिल्लामा रहेका विभिन्न होमस्टेहरू पर्यटकहरूलाई आकर्षित गर्ने थप आकर्षणका केन्द्र हुन्। यसै गरी व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अगाडी बढाएका विभिन्न स्थलहरू अवलोकन तथा कृषि अध्ययनका लागि पर्याप्त छ । स्थानीय कला संस्कृति झल्कने थारु नृत्य पनि बर्दियाको अर्को  आकर्षणको केन्द्र हो।

‘बर्दियामा मुख्य गरी बाघ हेर्न पाइन्छ, बाघ लगायत अरु जनावर जङ्गल सफारी गरेर हेर्न पाइन्छ,’ मन्त्री न्यौपानेले भने ‘जंगलसफारी बर्दियाको प्रमुख आकर्षण हो, यससंगै कृष्णसार,डल्फिनको अवलोकनसँगै यहाँका होम स्टेहरुमा पाइने स्थानीय परिकारको स्वाद तथा थारु संस्कृतिको नाच यो जिल्लाका पर्यटकीय आकर्षणका केन्द्र हुन्, यी क्षेत्रहरूको प्रवर्धन गरेर बर्दियामा पर्यटक भित्र्याउने लक्ष्य मन्त्रालयको छ।’ यसै गरी धार्मिक पर्यटन अन्तर्गत बर्दियामा विभिन्न पुरातात्त्विक धार्मिक धामहरू समेत बर्दियाका थप आकर्षण हुन्।

बर्दियामा पर्यटकहरू भित्र्याउनका लागि उद्योग , पर्यटन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गर्ने भएको छ  सामाजिक सञ्जाल मार्फत यहाँका पर्यटकीय थलोहरूका बारेमा जानकारी दिने लक्ष्य लिएको मन्त्रालयले यो प्रचारले यहाँको पर्यटकीय क्षेत्रहरूका बारेमा विदेशी पाहुना पर्यटकहरूलाई जानकारी हुने जनाएको छ। यसै गरी छिमेकी मुलुक भारतीय सीमा क्षेत्रमा बर्दियाको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि प्रचारात्मक अभियान समेत थालिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यक्रमका लागि स्थानीय तहहरूसँग समन्वय गर्ने भएको छ।

प्रकाशित: ४ पुस २०८१ १७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App