४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

बाघ आएको हल्लापछि गाउँ नै त्रासमा

फाइल तस्बिर

इलामको रोङ गाउँपालिका–४, पहरी गाउँ र याङ्रेस्थित छाँगेखोला आसपासमा बाघ आएको हल्ला फैलिएपछि स्थानीय त्रसित बनेका छन्। सम्भावना निकै कम मात्र भएपनि पाटेबाघ नै आएको हल्ला फैलिँदा स्थानीयमा त्रास बढेको हो।

गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले मंगलबार आफ्नो फेसबुकमा बाघ आएकाले ‘सावधान, सावधान, सावधान’ भन्दै सूचना लेखेका थिए। उनले सूचनामा सुरक्षाको रणनीति अपनाइने पनि जनाए। ‘उक्त बाघ बच्चासहित हुनसक्ने जिल्ला वनमार्फत जानकारी आएको छ,’ अध्यक्ष स्याङ्बोले लेखेका छन्, ‘बच्चासँग रहेको बाघ बढी आक्रामक स्वभावको हुनाले होहल्ला, तर्साउने, खेदाउने कार्यसमेत नगर्नुहोला।’

अध्यक्ष स्याङ्बोका अनुसार यहाँको मानाबुङ क्षेत्रमा केही दिनअघि बाख्रा, गाई र भैँसीसमेत बाघले मारिसकेको छ। वडा ४ का वडाध्यक्ष राजकुमार लाप्चा पनि गाउँमा बाघ आएको हल्ला फैलिएको बताउँछन्। ‘बाघ नै हो कि होइन भन्ने यकिन छैन तर प्रत्यक्षदर्शीलाई बाघ नै हो भन्छन्,’ उनले भने, ‘पशुहरू क्षति गरेको देख्दा त बाघै हो कि जस्तो पनि लाग्छ।’ आफूहरूले जनधनको थप क्षति हुन नदिन वडाले पनि प्रयत्न गरिरहेको जनाए। उनले बाघ आएर जङ्गलमा बसेको छ भन्ने सोचेर गाउँ नै त्रसित रहेको बताए।

बाघ आएको भनिएको इलामको पूर्वी–दक्षिणी यो क्षेत्र झापासँग पनि जोडिएको छ। जिल्लाका उत्तरी भेगमा भने बर्सेनि चितुवाले घरपालुवा जनावर गोठमै आएर खाएर हैरान बनाउने गरेको छ।

डिभिजन वन कार्यालयले भने मंगलबार गाउँमा बाघ आएको भन्दै रोङ गाउँपालिकाबाट खबर आएको जनाएको छ। तर, पहिचान हुन नसकेको डिभिजनका सूचना अधिकारी वन अधिकृत गजेन्द्र श्रेष्ठले बताए। ‘इलामको यो जङ्गलमा बाघ नै आएको हो भन्ने त लाग्दैन, कतिपयले उस्तै देखेर चितुवालाई पनि बाघ भनिदिन्छन्,’ उनले भने, ‘तर, के आएको हो भन्ने पहिचान पनि भएको छैन।’ वन अधिकृत श्रेष्ठले स्थानीयले वनमा रहेको ‘बाघ’ धपाइदिन आग्रह गरेको बताए। 

‘जङ्गलभित्र बाघ भएपनि हटाउने भन्ने त हुँदैन र यो डिभिजनले भन्दा पनि वन्यजन्तु आरक्षले मात्रै गर्न सक्छ,’ श्रेष्ठ भन्छन्, ‘यहाँको भूगोलमा बाघ नै आउँछ भन्ने लाग्दैन, हामी अध्ययन चाहिँ गर्दैछौं।’ उनले बाघ फराकिलो जङ्गलमा मात्रै बस्ने, बिच–बिचमा बस्ती भएको ठाउँमा बाघ एउटा जङ्गलबाट अर्कोमा नजाने, उसलाई बाँच्ने आहार पनि जताततै पर्याप्त नहुने भएकाले बाघ नै आउने सम्भावना निकै कम मात्र रहने जनाए। ‘बाघ समूहमा बस्छ, एक्लै पनि हिँड्दैन,’ उनले भने, ‘बाघ यहाँ पाइनु निकै दुर्लभ कुरा हो। हामी अध्ययन गर्दैछौं।’

प्रकाशित: ४ पुस २०८१ १७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App