३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउँछौंः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन्।

शुक्रवार सिंहदरवारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्। उनले आफ्नो मन्त्रालयका कर्मचारीहरु दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताए।

मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताए। मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभइ कार्यान्वयन गरेर देखाउने बताए।

नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले वृहत खानेपानी आयोजना सर्वेका लागि आफ्नो जिल्लामा हालसम्म कर्मचारी नै नपुगेको गुनासो गरिन्। उनले योजना आएको तीन वर्षमा सर्वे हुन नसकेको भन्दै जनतासमक्ष जान पनि लाजमर्दो भएको बताइन्।

सोही क्रममा नेकपा एमालेकी सांसद बिनाकुमारी श्रेष्ठले मेलम्ची खानेपानी साउनयता जनताले खान पाउनेरुपमा कुनै काम अघि बढ्न नसकेको बताइन्। उनले काठमाडौंका बासिन्दाले कहिलेसम्म मेलम्चीको खानेपानी खान पाउने हो भन्दै खानेपानी मन्त्रीलाई प्रश्नसमेत गरे।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एक घर एक धारा र जनसंख्याका आधारमा खानेपानी छुट्याउने कुरा एक आपसमा बाझिएको बताइन्। उनले खानेपानीको योजनामा लागतलाई आधार बनाएर काम अघि बढाउँदा राम्रो हुने बताइन्।

यस्तै, नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामाले खानेपानी मन्त्रालयको कहिल्यै बिस्तृत योजना नभएको र सबैले गाली गर्न थालेको भन्दै मन्त्रालयको नाम फेरेर पिउने पानी मन्त्रालय राख्न सुझाव दिए। उनले खानेपानीको पाइप र ढलको पाइपहरु कहाँ छ भन्ने कुरा आधिकारिक मान्छेहरुलाई नै थाहा नभएको बताए।

प्रकाशित: ३० पुस २०७८ १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App