१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले संविधान नै खत्तम पार्न खोजे'

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताएका छन्।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन्। चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैले खडा गरेका राज्यका मुख्यमुख्य संस्थाहरुलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए।

पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए।

उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भईराखेको छ, यो चार वर्षमा। त्यसमा पनि एक वर्षदेखि २/२ चोटि संविधानमाथि आक्रमण भएको छ। सदनमाथि आक्रमण भएको छ। प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे। पोलिटिकल पार्टी कहाँ–कहाँ गए? के–के भयो? त्यो विषय होईन। म भन्न चाहन्छु–जुन समस्याहरु खडा गरेका छौं। ती संस्थाहरुलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरु, जुन पिल्लर हुन्छ। त्यसमा बारम्बार प्रहार गरियो।’

पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि पनि जनाए। उनले राजनीतिक दलहरुलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुट्न पनि आग्रह गरे।

प्रकाशित: २४ पुस २०७८ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App