७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सङ्गठन विस्तारमा तीव्रता दिँदै एकीकृत समाजवादी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ। उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो।

आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ। समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई वडास्तरमा लगिरहेको हो। काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताए। उनले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलाञ्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिए।

गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ। उनले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा सङ्गठन विस्तार भइसकेको बताए। उनका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय÷क्याम्पसमा कमिटी गठन भएको छ। साथै १७ जनवर्गीय सङ्गठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ। पार्टीले विशेषगरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ।

केही वडा कमिटी गठन गर्न पार्टीका सङ्घीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ। गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ। “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भने। मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ। वाइवा उक्त नगरको प्रमुखसमेत रहेका छन्। उनले क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै गएको बताए।

नेकपा एमालेसँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलाञ्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए। तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए।

एकीकृत समाजवादीमा काभ्रेपलाञ्चोबाट नेतृत्व गरेका एमालेबाट निर्वाचित पूर्व सांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहेका छन्। देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष छन् भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहेका छन्। जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुन्।

प्रकाशित: २० पुस २०७८ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App