१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस रुपान्तरणमा लाग्ने उद्घोष

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई रुपान्तरण गर्न नयाँ ढंगबाट यात्रा सुरु गर्ने बताएका छन्। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी रहेका कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको सम्मानमा बुधबार आयोजित कार्यक्रममा पार्टीमा भागबन्डा र गुटबन्दीको राजनीति नगर्ने तर रुपान्तरणको अभियानमा लागिरहने बताउँदै भने,‘जसरी साढे ५ वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, फेरि पनि त्यसरी नै चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं।’

कोइरालाले महाधिवेशनअन्तर्गत भएको प्रतिस्पर्धालाई स्वाभाविकरुपमा लिनुपर्ने धारणा राख्दै यसक्रममा कसले के गर्‍यो, किन गर्‍यो,के भयो भन्ने कुण्ठा पालेर आफू नबस्ने पनि बताए । पार्टी सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई दिँदै कोइरालाले भने, ‘यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो, निर्वाचन भएपछि हारजित स्वाभाविक हो । कसले के गर्‍यो? किन गर्‍यो भन्ने कुण्ठा म राख्दिनँ।’

पार्टी नेतृत्वको प्रतिस्पर्धामा पराजित भए पनि आफूले अघि सारेको राजनीतिक अजेन्डा भने स्थापित भएको दाबी उनले गरे। ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणमा लागिसकेको छु। निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु,’उनले भने,‘मेरो टिमका साथीहरू पनि पक्कै तपाईंहरूको घरदैलोमा पुग्नुहुन्छ र आगामी महाधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु।’

कार्यक्रममा नेता अर्जनुनरसिंह केसीले नवनिर्वाचित सभापति देउवालाई पार्टीलाई व्यक्ति होइन, विधि र विचार प्रदान बनाउन आग्रह गरे । ‘पार्टीलाई तपाईं प्रधान हैन,नीति प्रधान बनाउनुहोस्,हामी सहयोग गर्छौं,’उनले भने, ‘तपाईं मेरो समकालीन साथी पनि हो। तपाईंको सफलताका लागि म शुभकामना दिन चाहन्छु। त्यो सफलता नेपाली कांग्रेसको सफलता होस्।’

महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले आफ्नो समूहले पार्टीमा व्यक्ति नभएर विचारको प्रतिनिधित्व गर्ने दाबी गरे। ‘जित र हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो,’ रिजालले भने,‘सभापतिमा पराजित भए पनि शेखर कोइरालाले आशा जागृ्रत गर्नुभएको छ । त्यो आशालाई कायम राखेर कांग्रेसलाई पुनर्जागरणको अभियानमा जुट्नुहुनेछ।’

कोइराला टिमबाट महामन्त्रीका अर्का उम्मेदवार गगनकुमार थापाले पार्टीलाई विधि–विधानअनुसार सञ्चालन गर्न सभापति देउवालाई सहयोग गर्ने बताए । सभापति विधि–विधानविपरीत अघि बढे संघर्षमा उत्रिने बताउँदै थापाले गुटको नभएर सबैको सभापति बन्न आग्रह गरे।

अबको एक वर्षभित्र तीन तहको निर्वाचन हुने भएकाले पार्टीलाई जिताउनेगरी लाग्न उनले सबैलाई आग्रह गरे। कांग्रेसविरुद्ध कम्युनिस्टले मोर्चाबन्दी गर्दैनन् भन्नेमा कुनै भर नभएको थापाले बताए। ‘हिजो कांग्रेसकै सरकारमा सामेल भएका कम्युनिस्टहरू अर्को कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लडे,’ उनले भने,‘कसैले जिम्मेवारी लिन सक्छ कम्युनिस्टहरू मिल्दैनन् भनेर? त्यसैले कम्युनिस्ट मिल्दा पनि जित्न सक्ने कांग्रेस बनाउन हामी लाग्नु छ।’ गुरुराज घिमिरेसहितका नेताले प्रहरी प्रशासन र सत्ताको दुरुपयोग गरेर देउवा नेतृत्वमा दोहोरिएको आरोप लगाए।

कांग्रेस सभापतिमा पुनःनिर्वाचित भएका देउवालाई निकटतम प्रतिस्पर्धी शेखर कोइरालासहित पार्टीका विभिन्न नेताहरूले बधाई तथा शुभकामना दिएका छन्। नेताहरूले देउवालाई भेटेर र टेलिफोनबाट शुभकामना दिएका हुन्। विपक्षी दलका नेताहरूले पनि देउवालाई बधाई दिएका छन्।

प्रकाशित: १ पुस २०७८ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App