१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसीको विरोधमा प्रदर्शन

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) को विरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि प्रदर्शन गर्ने ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमसिसीको विरोधमा संघीय संसद भवन अगाडि उत्रेका प्रदर्शनकारी र प्रहरी धकेलाधकेल समेत भएको थियो।

महानगरीय प्रहरी वृत बानेश्वरले संसद भवनअगाडि प्रदर्शन खोज्ने ७५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी,नेकपा माले लगायत दल तथा विभिन्न सामाजिक संस्थाको अगुवाइमा मंगलबार एमसिसी संसदबाट कुनै पनि हालतमा पास गर्नु हुँदैन भन्दै विरोध प्रदर्शन भएको हो।

विभिन्न राजनीतिक दलको अगुवाइमा दरबारमार्गस्थित एमसिए नेपालको कार्यालयमा सोमबार घेराउ पनि गरिएको थियो। सयौंको संख्यामा रहेका प्रदर्शनकारीले ‘एमसिसी चाहिँदैन,देश बेच्न पाइँदैन’, ‘दलालहरू होसियार’, ‘एमसिसी खारेज गर’ लगायत नारा लगाउनुको साथै कालो झण्डा प्रदर्शन गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसिसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ। केन्द्रले मंगलबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर २३ गतेदेखि २८ गतेसम्म देशव्यापी रूपमा एमसिसीविरुद्ध हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको हो।

‘राष्ट्रिय स्वाधीनताको रक्षार्थ सम्पूर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरू एकजुट होऔं,राष्ट्रघाती एमसिसी सम्झौताविरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौं’ नारासहित हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले एमसिसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध १० लाखजनाको हस्ताक्षर संकलन गरेर आफ्नो दलले ऐतिहासिक र युगान्तकारी कार्यक्रम गरेको बताए।

उनले नेपाल सरकारले गर्न लागेको एमसिसी सम्झौता जनताको हितमा नभएको तर्क गरे। शासन र सत्ता भोग गरिरहेका नेताहरूको कारण नेपाली जनताको टाउकोमा ठूलो बज्रपात पर्न लागेको उनले आरोप लगाए।

प्रकाशित: २९ मंसिर २०७८ ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App