राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई चिठी लेखेर पूर्व राजा ज्ञानेन्द्र शाहप्रति कडा आक्रोश पोखेका छन्।
उनले निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको बताएका छन्। उनले भनेका छन्, ‘निर्मल निवासबाट कोही पनि सुरक्षित छैन। तपाईं पनि सुरक्षित हुनुहुन्न।’
थापाले हालै सम्पन्न राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको सचिवालयले हस्तक्षेप गरेको बताउँदै उक्त हस्तक्षेपको निन्दा र भर्त्सना गरेका छन्।
निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन गर्न एउटा समिति गठन गर्न उनले लिङेदनसँग माग गरेका छन्। साथै निर्मल निवासले गरेको हस्तक्षेपको भत्र्सना गर्न लिङ्देनलाई आग्रह गरेका छन्।
लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रले गरेको हस्तक्षेपको छानबिन गर्न समिति गठन गरेमा पार्टी एकताप्रति आफू प्रतिबद्ध हुने जनाएका छन्। उनले राजा बोक्ने राप्रपाका नैतिक धरातल समाप्त भएको पनि बताएका छन्।
साथै राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको जनाएका छन्। चिठीमा उनले भनेका छन्, ‘निर्मल निवासको पछिल्लो कारबाहीले मेरो मूल्य र मान्यताको आधार र धरोहर एकैपटक तहसनहस भएको छ।’
पूर्वराजाले गरेको हस्तक्षेपको विषयमा छानबिन नभएसम्म पार्टीले कुनै गति लिन नसक्ने उनले ठोकुवा गरेका छन्। उनले भनेका छन्, ‘मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाधेर राजसंस्थाको अजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति नै कोपभाजनमा पर्छ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन।’ निर्मल निवासप्रति आक्रोश पोख्दै चिठीमा भनेका छन्,‘२०६२/६३को आन्दोलनपछि सबैले राजा छाडेर हिँडे। राजाबाट प्रधानमन्त्री, मन्त्री भएका तथा राजाको निगाहा पाएका सबैले गणतन्त्र जनताको चाहना हो भन्दै नदीको प्रवाहसँगै जान रुचाए।
केही सीमित निष्ठावान साथीको आडभरोसामा मैले राजालाई बोकेर हिँडे। राजाको प्रतिरक्षा गरे। जनअभिमतबाट राजसंस्था पुनस्र्थापित गर्ने अधिकार सुनिश्चित गरे।’ राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले गरेको हस्तक्षेपको यथेष्ट प्रमाण आफूसँग भएको उनले बताएका छन्।
राप्रपाको महाधिवेशनमा पूर्वराजाको सचिवालयले र पूर्वराजाका नातेदारले राजाको चाहना भन्दै प्रतिनिधिलाई दबाब र प्रलोभनमा पार्ने खुला रूपमा भइरहेको भन्दै पूर्वराजाको हस्तक्षेप अमर्यादित, अवाञ्छित र निन्दनीय भएको उनले जनाएका छन्।
प्रकाशित: २८ मंसिर २०७८ ०१:३३ मंगलबार





