४ वैशाख २०८१ मंगलबार
राजनीति

संस्थापन इतरमा जुटेन सहमति: सिटौलाको साथ देउवालाई, प्रदीप महामन्त्री

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा सभापतिका आकांक्षीले आआफ्नो प्यानल निर्माण गर्न सकेका छैनन्।

शुक्रबार रातिसम्म सभापतिका आकांक्षीहरू पदाधिकारीको टुंगो लगाउने कसरतमा जुटेका छन्। तर कुनै पनि पक्ष पदाधिकारीको टुंगो लगाउन असफल भएका हुन्।  

निर्वाचन कार्यतालिकाअनुसार शनिबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। तर सभापतिका आकांक्षीले आफ्नो समूहको नाम रातिसम्म बाहिर ल्याउन सकेका छैनन्। दोस्रो कार्यकालका लागि सभापतिको प्रत्याशी बन्ने घोषणा गरेका देउवाको समूहबाट उपसभापतिमा पूर्णबहादुर खड्का उम्मेदवार बन्ने निश्चित भएको छ। तर अर्को एक उपसभापतिमा कसलाई अघि सार्ने भन्ने अझै निश्चित भएको छैन। देउवा उपसभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला वा संस्थापन इतरका नेतालाई समेटेर आफ्नो जितलाई सुनिश्चित गर्ने रणनीतिमा छन्। सिटौलाले उपसभापतिको उम्मेदवार नबन्ने बताउँदै आएका छन्।

वडा अधिवेशनदेखि नै देउवा समूहप्रति लचिलो बनेका सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अघि सारेका छन्। सिटौला समूहलाई आफ्नो पक्षमा पार्न देउवा प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाउन सकारात्मक भएका छन्। पार्टीको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुनुपूर्व देउवा र सिटौलाबीच प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाउने समझदारी बनेको निकट स्रोतको दाबी छ।

देउवा समूहबाट नै महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउद आकांक्षी छन्। महामन्त्रीका आकांक्षीमध्ये महत वा अर्को नेतालाई उपसभापतिको उम्मेदवार बनाउनसक्ने निकटहरूको दाबी छ।

खाँण, कार्की र साउदमध्ये एकलाई महामन्त्रीको उम्मेदवार बनाउने, एकलाई कोषाध्यक्ष बनाउने र विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा मनाउने तयारी रहेको स्रोतको दाबी छ।  

उता संस्थापन इतर पक्षले शुक्रबार रातिसम्म पनि सभापतिको साझा उम्मेदवार टुंगो लगाउन सकेको छैन, प्रयास भने जारी छ। सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र शेखर कोइराला आफ्नो अडानमा कायमै छन्। सिंह र शेखरलाई मनाएर निकट नेताहरू पौडेललाई सभापतिमा अघि सार्ने पक्षमा थिए। महामन्त्री शशांक कोइरालाले पौडेललाई नै सभापतिको उम्मेदवारमा अघि सार्नुपर्ने प्रस्ताव राखे पनि युवा नेता त्यसको पक्षमा नउभिएको स्रोतले बताएको छ।

सभापतिका आकांक्षी शेखर कोइरालाले राति पौडेललाई भेटेर सिंह सहमतिमा आए आफू सहयोग गर्न तयार रहेको बताएका थिए। अन्यथा आफूलाई सहयोग गर्न उनले आग्रह गरे पनि पौडेलले आफू कतै पनि नलाग्ने बताएका थिए। पौडेलसँगको भेटपछि शेखर राति टिम निर्माणमा युवासँग छलफलमा जुटेका छन्। बैठकमा सहभागी केन्द्रीय सदस्य बद्री पाण्डेले सभापतिका आकांक्षीहरूमध्ये शेखरसहितका नेता छलफलमै रहेको जानकारी दिए। ‘डा. शेखरसहित कसरी अघि बढ्ने भन्ने छलफलमै छौं हामी,’ उनले भने, ‘रामचन्द्र दाइले भोलि बिहानसम्म सहमतिका लागि कुनै उपाय निकाल्न सकिन्छ कि, प्रयास गर्ने बताउनुभएको छ। हामी पनि सहमतिको प्रयासमै छौं।’ तर ढिलासम्म पनि टुंगो लागि नसकेको जानकारी दिंदै नेता मीनेन्द्र रिजालले भने, ‘छलफल जारी छ, टुंगो लागिसकेको छैन।’

प्रकाशमान सिंहका प्रेस सहयोगी यूपी लामिछाने सहमति नभएको र आफ्नो तयारीमा जुटेको बताए। ‘हामी आफ्नै तयारीमा लागेका छौं,’ उनले भने। सहमति जुटाउन रिजालका साथै अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, महेश आचार्य सक्रिय भएका छन्। रिजालबाहेक अन्य नेता उपसभापतिको आकांक्षी छन्। रिजालले महामन्त्रीको उम्मेदवार बन्ने बताउँदै आएका छन्। त्यस्तै, गगन थापा र धनराज गुरुङले पनि महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्। इतर समूहबाट साझा उम्मेदवारको सम्भावना कमजोर बन्दै गएपछि अब शेखर र सिंह सभापतिको प्रतिस्पर्धामा उत्रिने छन्। त्यस्तो अवस्थामा इतर पक्षका धेरै नेता शेखरतिर उभिनसक्ने आकलन गरिएको छ।

शेखरसहितका नेताले सिंहको उम्मेदवारी कायमै रहे पनि पौडेललाई उम्मेदवार बन्न आग्रह गरेको बताइएको छ। तर पौडेलले इतर पक्षबाट एउटा अर्को उम्मेदवार भए आफू अघि नसर्ने बताउँदै आएका छन्। सभापतिका अर्का प्रत्याशी विमलेन्द्र निधि पनि प्यानल निर्माणको कसरतमा जुटेका छन्। उनले आफ्नो समुहबाट ककसलाई अघि सार्छन् टुंगो लाग्नसकेको छैन।

यसैबीच कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबार राति नै बन्दसत्र भएको छ। बन्दसत्रमा महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काको महामन्त्रीको प्रतिवेदनसहितका प्रस्ताव पारित भएको छ। निर्वाचन समितिले शुक्रबार ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ।

प्रकाशित: २५ मंसिर २०७८ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App