८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशनः कर्णालीमा देउवा समूहको वर्चश्व

१३ औं महाधिवेशनमा कर्णालीमा १० मध्ये एक जिल्लामा मात्रै सीमित संस्थापन (शेरबहादुर देउवा) समूहले १४ औं महाधिवेशनसम्म आइपुग्दा जिल्लादेखि प्रदेशसम्म वर्चश्व कायम गरेको छ।

संस्थापन समूहले यो पटक कर्णालीका आठ जिल्लामा सभापतिसँगै प्रदेश सभापतिसहित कार्यसमिति पनि एकलौटी गरेको छ। आइतबार सम्पन्न प्रथम प्रदेश अधिवेशनको मत परिणाम अनुसार संस्थापन समूहका ललितजंग शाही निर्वाचित भए। ललितजंगले ४२२ मत ल्याए।

संस्थापनइतर (रामचन्द्र पौडेल) समूहका भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याए भने बिमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए। कर्णाली प्रदेशको पहिलो सभापति बनेका शाही जुम्लाका हुन्। उनी यसअघि २०७० सालमा संविधानसभा सदस्य थिए। सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन्।

यस्तै प्रदेश पदाधिकारी र सदस्यहरुमा पनि संस्थापन समूहका उम्मेदवार विजयी भएका छन्। प्रदेश कार्यसमितिको उपसभापतिमा कालिकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याए भने कार्कीले ४४३ मत ल्याएका छन्।

महामन्त्रीमा ४२३ मतसहित कृष्णबहादुर रोकाया र ४२५ मतसहित निरञ्जन केसी निर्वाचित भएका छन्।सहमहामन्त्रीमा खुलाबाट उपेन्द्र थापा (४३० मत) र एकराज डाँगी (४५९ मत) निर्वाचित भएका छन्। महिला कोटाबाट रामछायाँकुमारी शाही सह–महामन्त्रीमा निर्वाचित भएकी छन्।

खुलाबाट सह–महामन्त्रीमा निर्वाचित थापा सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर हुन् भने महिला कोटाबाट निर्वाचित शाही जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष हुन्।

प्रकाशित: १९ मंसिर २०७८ ११:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App