coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नजिकिए देउवा–सिटौला

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्।

दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।

सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन्द्वी पौडेलसँगै सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे।

१३ औं महाधिवेशनबाट कांग्रेसभित्र छुट्टै समूह (तेस्रो धार) को पहिचान बनाएको सिटौला समूह पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनमा देउवासँगै मिलेर अघि बढ्यो।

अर्को भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशनसम्म पुग्दा देउवासँग सिटौला केही टाढा देखिए पनि उनको लचकता देउवातिरै रह्यो। तर सिटौलालाई साथ र सहयोग गर्दै आएका गगनकुमार थापा,प्रदीप पौडेलसहितका नेताहरू २०७४ सालको आमनिर्वाचनपछि देउवाको विकल्पमा उभिँदै आएका छन्।

पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।

पार्टीको तल्लो तहका अधिवेशनहरूमा सिटौला पक्षले आफ्नो अनुकूलतामा संस्थापन र इतर समूहसँग तालमेल गर्‍यो। तर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म आइपग्दा सिटौला समूह अधिकांश ठाउँमा संस्थापन पक्षसँग नजिकिएको छ।

स्थानीय राजनीतिका कारण केही अपवादबाहेक धेरैजसो जिल्लामा सिटौला निकट नेताहरूले देउवा समूहलाई सहयोग गर्ने र केही ठाउँमा देउवा पक्षको सहयोग लिएर नेतृत्व आफ्नो पक्षमा पारेका छन्।बिहीबारदेखि सुरु भएको सातै प्रदेशको अधिवेशनमा पनि नयाँ नेतृत्व लिन देउवा र सिटौला समूहबीच तालमेल भएको छ।

सिटौला निकट नेतालाई प्रदेश १ र वाग्मती प्रदेशको सभापति दिने सहमति भएअनुसार प्रदेश १ मा सभापतिका लागि उद्धव थापा उम्मेदवार भएका छन्। सिटौलाले वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानलाई अघि सारे पनि देउवा निकट नेता इन्द्र बानियाँको पक्षमा जिल्ला सभापतिहरू उभिएका छन्।

यसैकारण प्रधानलाई सभापतिको उम्मेदवार नहुन मनाउने प्रयासमा नेताहरू लागेका छन्। अन्य प्रदेशमा सिटौला निकट नेताले देउवा पक्षका उम्मेदवारलाई सहयोग गर्ने रणनीति बनाएको निकट स्रोतको दाबी छ।

सिटौलाले १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्याशी बन्ने बताउँदै आएका छन्। देउवाको विकल्प खोज्न सिटौलालाई पनि इतर समूहमा समेट्न नेताहरू सक्रिय छन्।

तर प्रदेश समितिको नेतृत्वका लागि बनेको देउवा–सिटौला समीकरण केन्द्रीय नेतृत्व चयनमा पनि कायम रहने निकट एक नेताको दाबी छ। ‘संस्थापन इतरबाट सभापतिका आकांक्षीमध्येबाट उहाँ (सिटौला) ले नेता स्वीकार गर्ने उम्मेदवार पाउनुभएको छैन,’उनी निकट एक नेताले भने, ‘सके आफैं सभापतिको उम्मेदवार हुने नभए देउवालाई सहयोग गरेर जाने अवस्था आउँछ होला। प्रदेश समितिको निर्वाचनमा भएको समीकरणले पनि यही संकेत गर्दैछ।’

प्रकाशित: १७ मंसिर २०७८ ००:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App