जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसको नयाँ नेतृत्वका लागि संस्थापन र इतर पक्षको प्यानल भिडन्त भइरहेको छ। केन्द्रमा स्पष्ट रूपमा संस्थापन र इतर प्यानल भएपनि जिल्लामा भने जिल्ला सभापतिका आकांक्षी ४ नेताले अलग–अलग चारै प्यानल चुनावमा उतारेका छन्।
दुवै क्षेत्रीय समितिका लागि जिल्ला सभापति हिमालय कर्माचार्य, पूर्वसभापति केशव थापा तथा नेताहरू भेषराज आचार्य र डम्बर खड्काले आ–आफ्नै उम्मेदवार उठाएका हुन्। यीमध्ये थापा र खड्का देउवा पक्षका मानिन्छन् भने आचार्य र कर्माचार्य इतर पक्षका अहिले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ। अपराह्न सुरु मतदानमा साँझ ७ बजेसम्म करिब ६० प्रतिशत मत खसिसकेको काङ्ग्रेसले जनाएको छ। क्षेत्र नम्बर १ को फिक्कल र २ को मंगलबारेमा निर्वाचन भइरहेको छ।
क्षेत्र १ मा सभापति कर्माचार्यको प्यानलका दुुर्गा बराल, थापा प्यानलका मिलन क्षेत्री, आचार्य प्यानलका शमशेर राई र खड्का प्यानलका भीष्म प्रधानले सभापतिका लागि उम्मेदवारी दिएका छन्। क्षेत्र २ मा कर्माचार्य पक्षका नुतनदेव दुलाल, आचार्य पक्षका डिकेन्द्र इदिङ्गो, थापा पक्षका नरेश श्रेष्ठ र खड्का पक्षका मनबहादुर बुढाथोकी क्षेत्रीय सभापतिमा भिडेका छन्। अधिवेशनले एउटा क्षेत्रमा २ सचिव, २ सहसचिव र १८ सदस्य निर्वाचित गर्नेछ।
२५ महाधिवेशन प्रतिनिधि छानिने १ नम्बर क्षेत्रमा ६७ र २५ प्रतिनिधि छानिने २ नम्बर क्षेत्रमा ५२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। महाधिवेशन प्रतिनिधि छानिएपछि उनीहरूबीचबाट दुवै क्षेत्रमा ११÷११ जना महासमिति सदस्य छानिने छन्। महासमिति सदस्यका लागि जिल्ला अधिवेशनकै दिन चुनाव हुने कांग्रेसले जनाएको छ। अहिले मतदान चलिरहेकाले आजै मतदान सकेर गणना सुरु गर्ने तयारी भइरहेको छ। मत गणनाको परिणाम भोलि (मंगलबार) बिहानसम्ममा आउने अनुमान गरिएको छ।
यसअघि प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि जिल्ला सभापतिका आकांक्षी चारै नेताले आफ्ना उम्मेदवार भिडाएका थिए। प्रदेशसभाका ४ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रीय सभापति संस्थापनइतर प्यानलबाट विजयी भए भने १ सभापति संस्थापन पक्षबाट विजयी भएका छन्। जिल्लाको क्षेत्र १ मा ७ सय ३० र क्षेत्र २ मा १ हजार ६५ क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्दैछन्।
प्रकाशित: ६ मंसिर २०७८ १४:२४ सोमबार





