१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिएकी छन्।

शनिबार काठमाडौंको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरतको निम्ति, काठमाडौं उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन्।

उनले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिनेमा जोड दिँदै पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाडौं बनाउन पनि विद्युतीय सवारी साधनको प्रयोग अति आवश्यक भएको स्पष्ट पारिन्।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकामा बढिरहेको प्रदुषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिइन्।

उनले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन्। राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गरिन्।

उनले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैलाउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढन सके मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताइन्।

प्रकाशित: ४ मंसिर २०७८ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App