७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

ओली आफ्ना हनुमान बाहेक सबैका विपक्षीः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्ना हनुमान बाहेक सबैको विपक्षी भएको बताएका छन्। केपी ओली आफ्ना हनुमान हुने बाहेक स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, कानुन व्यवसायी र  कर्मचारीतन्त्रकै विपक्षमा रहेको नेपालले बताए।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले भने, ‘ ओली आफ्ना हनुमान हुनेहरू बाहेक सबैका विपक्षी भएकाले पछिल्लो समय न्यायपालिका विरुद्ध जथाभावी बोल्दै हिँडेका छन्।’

ओलीको अभिव्यक्तीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरेको उनले बताए। ओलीको तानाशाहविरुद्ध अदालतले निर्णय गरेका कारण अदालतसँग रिस पोख्न ओलीले न्यायपालिकाविरुद्ध अभिव्यक्ती दिँदै हिँडेको नेपालले आरोप लगाए। ओलीको  तानाशाही प्रवृत्तिविरुद्ध कसैले केही गर्याे भने उहाँलाई असह्य हुने गरेको नेपालले बताए। ‘ओलीको तानाशाहविरुद्ध कसैले केही गरे उहाँलाई असह्य हुन्छ’ उनले भने, ‘पछिल्लो समय केपी ओलीले जथाभावी बोल्दै हिड्नु उहाँको प्रवृत्ति नै  हो। उहाँको अभिव्यक्तीले स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गरेको छ।’  

केपी ओलीले केहि दिन पहिलेदेखि परमादेशको फैसला गर्ने न्यायधिशहरूले राजीनामा दिनुपर्ने अभिव्यक्ती दिँदै आएका छन्। नेता नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने विषयमा कहिँकतै छलफल नै नभएको स्पष्ट पारे। केपी ओली आफू बस्न नपाए कुर्सी भाँच्ने मान्छे भएकाले प्रदेश १ मा पनि रडाँको मच्चाइ रहेको उनले बताए।

नेपालले प्रदेश १ मा नेकपा(एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे। उनले भने, ‘चाँडै भीम आचार्य नेतृत्वको सरकार विस्थापित गरी राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार  बन्छ।’

नेपालले  प्रदेश १ सरकारको नेतृत्व आधा—आधा कार्यकाल हुने वा पूरै कार्यकाल हुने भन्ने बारेमा कुनै सहमति नभएको स्पष्ट पारे।

प्रकाशित: १३ कार्तिक २०७८ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App