लोकतन्त्र प्राप्तिपछि प्रतिनिधि सभा निर्वाचनमा एउटै अनुहारलाई पटक पटक उम्मेदवारको रुपमा देखेका मतदाता यस वर्ष भने परिवर्तन चाहेका छन् ।
पुरानै पार्टी, पुरानै एजेन्डा, पुरानै अनुहार तथा केही पार्टी बदलेर उही मानिस उम्मेदवार बनी घरघरमा पुग्ने गरेकोबाट रौतहटका मतदाता असन्तुष्ट हुँदै नयाँ अनुहार खोजिरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहअध्यक्ष माधवकुमार नेपाल गृह क्षेत्र रौतहट १ बाट उम्मेदवार छन् । रौतहट क्षेत्र नम्बर १ मा नयाँ अनुहार छैन । पूर्वप्रधानमन्त्री नेपालका प्रतिद्वन्द्वी पुरानै अनुहारका छन् । नेकपा एमालेका अजय गुप्ता, नेपाली कांग्रेसका अनिलकुमार झा, जसपा नेपालका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरी जिल्लाको निर्वाचनमा पुरानै अनुहार हुन्।
यी मध्ये कतिपय पुरानै पार्टीका भए पनि कतिपयले पार्टी परिवर्तन गरी उम्मेदवार बनेका छन्।
नयाँ अनुहार र परिवर्तनको चाहना रहे पनि रौतहट क्षेत्र नम्बर १ का मतदातालाई पुरानै अनुहारका उम्मेदवारमध्ये एकलाई रोज्नुपर्ने बाध्यता छ।
माधवकुमार नेपाल गत चुनावमा निर्वाचित हुँदा एमाले नेता अजय गुप्ता मुख्य प्रतिद्वन्द्वी थिए । अनिल कुमार झा २०७४ सालमा क्षेत्र नम्बर १ बाट उम्मेदवार भएर निर्वाचित हुँदा अहिले मनोनयन दिँदा नेपाली कांग्रेस अहिलेका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्ण प्रसाद यादव पराजित भएका थिए । त्यस बखत गुप्ता लोसपा पार्टीबाट गौरको मेयर निर्वाचित भएका थिए ।
अर्का उमेदवार जसपा नेपालका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा मुख्य मन्त्री कृष्णप्रसाद यादवबाट पराजित भएका थिए ।
यसैगरी रौतहट क्षेत्र नम्बर २ मा पनि पुरानै अनुहारबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेस डा. फिर्दोष आलम दिवंगत नेता महम्मद आफताब आलमका छोरा हुन् । बुवाको बिँडो थाम्न निर्वाचनको मैदानमा होमिएका डा. आलम गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहबाट पराजित भएका थिए । गत निर्वाचनमा प्रभु साहको सहयोगमा स्वतन्त्र निर्वाचित भएका किरण साह एमालेमा प्रवेश गरेका थिए । तर एमालेले शैलेन्द्र साहलाई आधिकारिक उम्मेदवार बनाएपछि किरण साहले नेपाली कम्युनिष्ट पार्टीको हात थामेका छन् ।
क्षेत्र नम्बर २ मा अन्य उम्मेदवारको खासै चर्चा छैन । साह र आलमबिच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
क्षेत्र नम्बर ३ का उम्मेदवार तत्कालीन माओवादी हुँदै अहिले आम जनता पार्टीका अध्यक्ष प्रभु साह पाचौँ पटक उम्मेदवार बनेका छन् । पहिलो संविधान सभा २०६४ देखि निरन्तर चार पटक निर्वाचन जितेका साहलाई टक्कर दिन जसपा नेपालले पूर्वमन्त्री एवं पुराना नेता गोबिन्द चौधरीलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको तर्फबाट शिक्षक नेता राम कृपाल यादव र नेपाली कम्युनिष्ट पार्टीबाट पुनम यादव र रास्वपाबाट माओवादीका पूर्वनेता रबिन्द्र पटेल धिरज उम्मेदवार छन् । नेकपा एमालेले पूर्वप्रदेश सभा सदस्य कुन्दन कुशवाहालाई उम्मेदवार बनाएको छ ।
गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, सबै मधेसवादी दलसमेत स्वतन्त्र उम्मेदवार प्रभु साहविरुद्ध खुल्ला रुपमा लागेको भए पनि साहले आरामसँगै चुनाव जितेका थिए । यो पटक उम्मेदवार बनेका सबैले आफ्नो प्रतिस्पर्धा केवल प्रभु साहसित मात्रै रहेको बताउने गरेका छन् ।
क्षेत्र नम्बर ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । आम जनता पार्टीबाट चर्चित पत्रकार ऋषि धमला, रास्वपाबाट गणेश पौडेल, नेकपा एमालेबाट रामजी साह सोनार, जसपा नेपालबाट राजकुमार दास तत्मा छन्। क्षेत्र नम्बर ४ को चुनावी मैदानमा बिल्कुलै नयाँ उम्मेदवार हुन् । दुई पटक निर्वाचित भइसकेका नेपाली कांग्रेसका देव तिमल्सिना ह्याट्रिकको तयारीमा छन् । नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराई प्रतिस्पर्धामा छन् ।
नयाँ अनुहार खोजेका मतदातालाई क्षेत्र नम्बर ४ मा पर्याप्त नयाँ अनुहार रहेको र पुराना नेता पनि जनतासँत सोझै जोडिएकाले यो क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।
प्रकाशित: ११ माघ २०८२ २०:१६ आइतबार



-600x400.jpg)

