२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चिन्तित हुँदै उपराष्ट्रपतिले भनेः मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरे। “मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला?”, उनले भने,“भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्द्धन गरौँ। र, भावी पुस्तालाई हस्तान्तरण गरौँ।”

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताए। “यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ”, उनले भने।

“लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ। यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र सम्वर्द्धन गर्नुपर्नेछ”, उपराष्ट्रपतिले भने, “यी दुईवटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नैपर्छ। विश्वजगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ।”

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा सम्बर्द्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रसंशा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवर्द्धनका लागि सहयोग गरेको बताए।

कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो।

प्रकाशित: ९ कार्तिक २०७८ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App