७ वैशाख २०८१ शुक्रबार
राजनीति

पोखरा भ्रमणबाट फर्किएपछि मुख्यमन्त्री राउतले भने: पर्यटन प्रवर्द्धनमा पहाड–मधेस मिलाप महत्वपूर्ण

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तीनदिने पोखरा भ्रमणबाट उत्साह र ऊर्जा बोकेर शुक्रबार फर्किएका छन्। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणामा राउत बुधबार पोखरा पुगेका थिए। प्रदेश २ का पर्यटन व्यवसायी र उद्योगीको टोलीका साथ पोखरा पुगेर फर्किएका मुख्यमन्त्री राउत निकै हौसिएका छन। पोखरामा मुख्यमन्त्री राउत टोलीको भ्रमणको संयोजन नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गरेको थियो।

भ्रमण निकै उपलब्धिमूलक र उत्साहजनक भएको मुख्यमन्त्री राउतले प्रतिक्रिया दिए। दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवद्र्धन, अन्तर प्रदेशीय समन्वय तथा सहकार्यका लागि पनि यो भ्रमण फलदायी भएको उनको भनाइ छ। सांस्कृतिक अन्तरघुलन, मिलाप र सहकार्यका लागि यो भ्रमण निकै उपलब्धिमूलक रहेको उनले बताए। सत्कार र सौन्दर्यका लागि गण्डकी प्रदेशको राजधानी पोखरा अतुलनीय रहेको भन्दै उनले खुसी व्यक्त गरे।  

बुधबार पोखरा पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल तथा पञ्चकन्यासहित पर्यटन व्यवसायीहरूले विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलबाट प्रदेश सरकारको मुख्यालय पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले स्वागत गरेका थिए।

गण्डकी प्रदेशले बिहीबार गरेको अन्तक्र्रियामा दुई प्रदेशबीच पर्यटक आदानप्रदानका लागि हुन सक्ने प्रयासबारे सरोकारवालाले विभिन्न धारणा व्यक्त गरे। भारतीय पर्यटकका लागि वीरगन्ज र जनकपुरलाई गेटवेका रूपमा विकास गरेर अघि बढ्ने योजना मुख्यमन्त्री राउतले सुनाए। 

पर्यटन पवद्र्धनका लागि पोखरा–जनकपुर उडान सञ्चालनका लागि पहल गर्ने विषयमा समेत दुवै मुख्यमन्त्रीबीच सहमति भएको छ। बुद्ध एयरले भदौ १६ देखि पोखरा–सिमरा उडान सुरु गरेको थियो। त्यतिबेला गण्डकीका पर्यटनमन्त्री मणिभद्र कँडेल नेतृत्वको टोली प्रदेश २ गएको थियो।

अन्तक्र्रियामा मुख्यमन्त्री राउतले संघीय सरकार केन्द्रको एकाइ नभई आफैंमा सार्वभौम सत्ता भएको बताए। संविधानमा व्यवस्था भए पनि अझै पनि प्रदेश मातहत प्रहरी नआएकोमा उनले असन्तुष्टि व्यक्त गरे।

उनले ट्राफिक प्रहरीले गर्ने आम्दानी प्रदेशमै खर्च गर्न पाउनुपर्ने धारणा राखेका थिए। व्यवस्था बदलिए पनि त्यसभित्र रहेका व्यक्तिको व्यवहार र चरित्र नबदलिँदा संघीयताको सफल कार्यान्वयन हुन कठिनाई भैरहेको उनको भनाई थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्रोत र शक्तिको उचित बाँडफाँट नहुँदा जनताले संघीयताप्रति गुनासो गरेको बताए। उनले प्रहरीको, वन र स्वास्थ्यको उदाहरण दिँदै शक्तिको बाँडफाँटको अवस्था प्रस्ट्याए।’ संघीयता मजबुत हुँदा राष्ट्रियता खतरामा पर्ने नभई संघीयता मजबुत नहुँदा चाहिँ राष्ट्रियता खतरामा पर्ने उनको तर्क थियो। 

‘हामी संघीयताका लागि लड्यौं भन्ने बीचमा पनि स्पष्ट दृष्टिकोण नहुँदा पहिलेकै पाँच विकास क्षेत्र ठीक थियो भन्ने तर्क गर्न थालिएको छ,’ उनले भने, ‘संघीयतालाई पालना गर्ने कुरामा हाम्रो मानसिकतामा कमजोरी छ।’ वीरगन्ज महानगरपालिका प्रमुख विजय सरावगीले जनकपुर–पोखरा सीधा हवाई सेवा सुरु भए भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताए।  

प्रकाशित: ९ आश्विन २०७८ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App