१६ चैत्र २०८० शुक्रबार
राजनीति

दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्छ : बाबुराम भट्टराई

पत्रकार सम्मेलनमा डा. बाबुराम भट्टराई।

जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्।  

सोमबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न गोरखा आएका उनले पत्रकार भेटघाटमा भने ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ।’ आफ्नो पार्टी जनता समाजवादी एक्लैको निर्णयले एमसिसी पास गर्न सम्भव नभएको उनले बताए।  

‘एमसिसीले सबै पुग्ने होईन तर खानै नपाउने गरिबलाई एक छाक खान दिएको कुरा खाँदा सन्तोष हुने हो पुरै समस्या हल हुने होईन’, एमसिसीबारे प्रष्ट्याउँदै उनले भने।  

एमसिसीको विषय अहिले गिजोलिएर जनस्तरसम्म भ्रम सिर्जना भएको र ठीक कि बेठीक भन्ने विषयले प्रशय पाएको भट्टराईले बताए। ‘राष्ट्रिय सहमतिबाट नै यो टुङ्गो लागोस’, उनले भने, ‘सम्झौता राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ।’  

एमसिसी अनुदान सहयोग सम्झौता मात्र भएको उनले बताए। यस्तो थुप्रै देशहरुसँग हुने गरेको  तर यो सबैभन्दा ठूलो सम्झौता भएकाले संसदबाट पास गर्न खोजिएको उनले बताए। ‘हाम्रो संविधान अनुसार त्यो (पास गर्न) आवश्यक थिएन’, उनले भने, ‘विगतमा यस्ता शान्ति सम्झौतामा बिवाद बढी भएको हुनाले राष्ट्रिय सहमति जुटाउ सहज हुन्छ भन्ने कोणबाट हाम्रो (नेपालको) तर्फबाट माग गरेर राखिएको रहेछ।’ ‘तर फेरि हाम्रो त कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा हालेपनि बांङ्गाको बाङ्गै भनेजस्तो हामीले सिक्ने कुरा भएन’, डा. भट्टराईले भने।  

एमसिसी त्रिपक्षीय चासोको विषय बनेको बताउँदै उनले बिदेशी ठुला राष्ट्रलाई  नावश्यक ढंगले बिच्क्याउँदा उसले पनि प्रतिशोध राख्न सक्ने आशंका ब्यक्त गरे। अन्य बैदेशिक सहयोग घट्न सक्ने तर्फ उनले इङ्कित गरे। एमसिसी सम्झौता भएपनि संसदबाट साधारण बुहमतबाट अनुमोदन गर्ने भन्ने प्रवधान राखिएको उनले बताए।  

‘सरकारमा छँदा एउटा कुरा सरकार बाहिर रहेपछि अर्को कुरा गर्ने हाम्रो प्रवृत्ति हो’ नेकपा एमाले प्रति लक्षित गर्दै उनले भने। केही दलहरुको पुराना कम्यूनिष्टहरुको एउटा धङधङीका कारण आन्तरिक पार्टीको संघर्ष पनि प्रतिबिम्बित हुन पुगेको उनले बताए।  

पछिल्लो समय राजनीतिक द्वन्द्वको बाछिटा पनि एमसिसीमा परेको उनले बताए। भारतसँग सहयोग लिँदा चीन र अमेरिकी पक्षले भित्रभित्र उक्साईदिने, चीनसँग सहयोग लिँदा भारत र अमेरिकी पक्षले उक्साईदिने, र अमेरिकासँग लिन खोज्दा चीन, भारत पक्षले उक्साईदिने गरेको उनले बताए।

एमालेले एमसिसीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु ‘जो चोर उसकै ठूलो स्वर’ भएको प्रतिक्रिया उनले दिए। अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उनले बताए।  

पछिल्लो समय प्राविधिक कारणले सरकारले पूर्णता पाउन नसकेको बताउँदै उनले सरकारको विश्वसनियता माथि प्रश्न उठेकाले छिटो भन्दा छिटो सरकार गठन हुने दावी गरे।

प्रकाशित: २८ भाद्र २०७८ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App