२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि संशोधन भएको छ। पार्टी निर्वाचन समिति र महामन्त्री पूर्णबहादुर खड्कासहित शुक्रबार बसेको बैठकले प्रदेश र केन्द्रीय महाधिवेशनको मिति कायमै राख्दै अन्य कार्यतालिका भने संशोधन गरिएको हो। 

अझै २० जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी रहेपछि विवाद समाधान हुन बाँकी जिल्लाका वडा अधिवेशन असोज ५ गतेका लागि तोकिएको छ। बाँकी जिल्लामा भदौ १८ गतेबाट अधिवेशन सुरु भई अधिकांश ठाउँमा सकिने चरणमा पुगेको छ। भदौ २७ गतेका लागि तोकिएको नगर र गाउँपालिकाको अधिवेशन असोज ९ गतेका लागि सारिएको छ। 

त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला अविधेशन असोज १८ गते गर्नेगरी कार्यतालिका संशोधन गरिएको हो। कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।  

युवाको आपत्ति

नेपाली कांग्रेस युवा नेताहरूले अझै केही जिल्लामा पार्टीको क्रियाशील सदस्यता टुंगो लाग्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। शुक्रबार साँझ चन्द्र भण्डारी, धनराज गुरुङ कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै १९ जिल्लाको सदस्यता सूची सार्वजनिक नभएको प्रति असन्तुष्टि जनाएका हुन्। देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित गरेको जनाउँदै कार्यतालिका संशोधन गरिएको प्रति पनि रोष प्रकट गरेका छन्।

‘शुक्रबार (आज) मात्रै अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनहरू पर सारिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ।’ अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि पार्टी केन्द्रीय कार्यालयमा धर्ना, अनशन चलिरहेको प्रति असन्तुष्टि जनाउँदै डडेल्धुरा जिल्लामा विधि र प्रक्रियाविपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरू खारेज गरी विधिसम्मत रूपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरूको नामावली कायम गर्न आग्रह गरेका छन्। सोहीअनुसार अधिवेशनको प्रक्रिया नियमित गर्न पनि उनीहरूले माग गरेका छन्।

प्रकाशित: २६ भाद्र २०७८ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App