१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

तनावबीच टुंगियो कांग्रेसको वडा अधिवेशन

तनावबीच खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको वडा अधिवेशन टुंगिएको छ। शनिबार बिहान मतगणनाको क्रममा विवाद आएपछि साँझ पुनः गणना सुचारु गराएर परिणाम सार्वजनिक गरिएको हो। मतदान अधिकृतले राती १.१८ बजे निर्वाचन परिणाम सार्वजनिक गरेको जनाएको छ। याम्खामा लक्ष्मीकुमार राईलाई पराजित गर्दै रामचन्द्र राई वडा सभापति निर्वाचित भएका छन्। चुनाव भएका वडाको मत परिणाम शनिबार दिउँसो आइसके पनि याम्खाको मत परिणाम भने अवेर रातिमात्र आएको हो। प्यानलका आधारमा याम्खाको कांग्रेस वडा अधिवेशनलाई जिल्लामै चासोका साथ हेरिएको थियो।

दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई र नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको हो। गाउँपालिका अध्यक्ष राईले रामचन्द्रलाई र नेविसंघका जिल्ला उपाध्यक्ष राईको टोलीले लक्ष्मीकुमारलाई वडा सभापतिको उम्मेद्वार उठाएका थिए। लक्ष्मीकुमारको प्यानलले भने मत परिणामलाई अस्वीकार गरेको बताएका छन्। नेविसंघका उपाध्यक्ष राईले एकलौटी मत परिणाम घोषणा गरिएको आरोप लगाएका छन्। ‘खसेकोभन्दा एक मतपत्र बढी पाइयो। त्यसपछि हामीले पुनः निर्वाचन गर्नुपर्ने माग राख्यौं। निर्वाचन अधिकृतलाई निवेदन दियौं,’ उपाध्यक्ष राईले भने, ‘तर एकलौटी मत गणना गरेर परिणाम घोषणा गर्ने काम भएको छ। यो स्वीकार्य छैन। हामी बहिस्कार गछौं।’

१०९ औं मतपत्र गणनाका क्रममा विवाद सुरु भएको थियो। गाउँपालिका अध्यक्ष राईले भने हार हुने निश्चित भएपछि मत मतपत्रको विषयमा विवाद झिकिएको बताए। ‘समावेसी र खुलातर्फको मतपत्रसँगै राखेर स्टीज गरेको हुनुपर्नेमा खुला–खुलाको मतपत्र स्टीच भएको रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यस्तो मतपत्र बदर हुने व्यवस्था छ। त्यो मतपत्रमा उहाँहरुलाई नै भोट हालिएको रहेछ, त्यसलाई सदर मान्ने निर्णय गर्यौं। तर पुनः मतदानको माग आयो जुन सम्भव नै थिएन।’  

७० वडामा सर्वसम्मत, ८ वडामा निर्वाचन

७९ वडा रहेको जिल्लाको निर्मलीडाँडाबाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको छ। ७० वडामा सर्वसम्मत र ८ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व टुंग्याइएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए। सहमति नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको कांग्रेसले जनाएको छ।  

कांग्रेसका ६ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसहमतढंगबाट वडा अधिबेसन सम्पन्न भएको छ।  

निर्मलीडाँडाको अधिवेशन स्थगित

चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिवेशन स्थगित गरिएको हो। शुक्रबार वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेशन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए। निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन्। दुई उम्मेद्वारबिीचको पुरानो मतभेद तथा तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको कांग्रेस श्रोतले बताएको छ।

कांग्रेसको वडा अधिवेशनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ। 

प्रकाशित: २० भाद्र २०७८ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App