लुम्बिनी प्रदेशमा आज पनि प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ।
संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउन गरेपछि सदनको कारबाही अगाडी बढ्न सकेन। बैठक भोलि (बिहीबार) दिउँसो १ बजे सम्मका लागि स्थगित गरीएको छ।
यसअघि हिजो (मंगलबार)को बैठक पनि अवरुद्ध गरेपछि आज दिउँसो १ बजेका लागि स्थगित गरीएको थियो। एमालेले आफूले कारबाही गरेका भनिएका सांसदहरु अजय शाही र बिमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको हो
शाही र खत्रीलाई पदमुक्त गर्न संसद सचिवालयमा मंगलबार उसले निवेदन दर्ता गराएको थियो। एमाले सचेतक भुमिश्वर ढकालले आफ्नो पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गरेको सूचना जारी नहुँदासम्म संंसद चल्न नदिने बताए। सभामुख पुर्णबहादुर घर्तीले एमालेले कारबाही गरेका भनिएका सांसदका सम्बन्धमा आएका कागजपत्र बारे अनुसन्धान, छलफल र कानुनी परामर्स गरेर अघि बढ्ने बताएका छन्।
शाही गठबन्धन सरकारका मन्त्री छन्। उनले सुर्य चिन्ह लिएर स्वतन्त्र समूहबाट चुनाव जितेका थिए।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (ख)बाट निर्वाचित सांसद शाहीले आफू स्वतन्त्र रुपमा निर्वाचन लडेर जितेकाले एमालेको ह्वीप नलाग्ने दावी गरीरहेका छन्।
सांसद खत्री नेकपाबाट निर्वाचित भएकी हुन्। दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसदमा निर्वाचित खत्रीले गत वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन्। प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ। खत्रीले माओवादी केन्द्र रोजेपछि एमालेले उनलाई आफ्नो दलमा फर्काउन निरन्तर दवाव दिँदै आइरहेको थियो। एमालेमा फर्कन नमानेपछि साउन १५ गते अपहरण शैलीमा मुख्यमन्त्री निवास ल्याएर पाँच दिन बन्धक बनाएको आरोप समेत एमाले दलका नेता तथा निर्वतमान मुख्यमनत्री शंकर पोखरेलमाथि लागेको छ।
एमालेले यी दुई सांसद आफ्नो दलको बैठकमा सहभागी भएकाले दल परिवर्तन गर्न नपाउने भन्दै कारबाहीको माग गरीरहेको छ।
प्रकाशित: २ भाद्र २०७८ ०९:५९ बुधबार





