१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीमा दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले गर्‍यो सदन अवरुद्ध

जसपाकी पदमुक्त सांसद पाण्डेको स्थानमा मुडभरी

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन पछि आह्वान भएको संसद अधिवेशनको पहिलो बैठक एमालेको अवरोधका कारण स्थगित भएको छ। ४ दलीय गठबन्धन सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संसदको नवौं अधिवेशन आह्वान गरेका थिए।  

संसदको पहिलो बैठकमै प्रतिपक्षी दल नेकपा एमालेले गठबन्धनका दुई सांसद अजय शाही र बिमला खत्रीलाई कारबाहीको माग गर्दै बैठक अवरुद्ध गरेको हो।

मंगबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीको विशेष सम्बोधन संगै प्रदेश ऐन संशोधन गर्न बनेका विधेयक, समितिको प्रतिवेदन पेश र सांसदहरुले बोल्ने कार्यसूची थियो। पहिलो बैठक सुचारु भएको भए सम्भवत बुधबारको बैठकमा विश्वासको मत लिने तयारीमा सरकार थियो। तर झिनो मतका कारण सत्ताच्युत हुनु परेको पीडाबाट गुर्जीएको एमालेले सांसद शाही र खत्रीलाई आफ्नो दलको दावी गर्दै कारबाही नगरे सम्म संसद चल्न नदिने भनेको छ।  

मंगलबारको बैठक अघि सत्ता र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा छलफल भएपनि एमालेले आफ्नो अडान छोडेन। निर्धारित समयभन्दा डेढ घण्टा ढिलो सुरु भएको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढ्न सुरु गरे लगत्तै विपक्षीले अवरोध गरे।

एमालेले गठबन्धन सरकारका मन्त्री समेत रहेका सांसद अजय शाही र नेकपाबाट निर्वाचित भएर माओवादी केन्द्र रोजेकी सांसद बिमला खत्रीलाई आफ्ना सांसद भएको दावी गर्दै पदमुक्त गर्न सचिवालयलाई मंगलबारै पत्र बुझाएको थियो।  

आफ्नो पार्टीले बर्खास्त गरेका २ सांसदलााइ पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमाले सचेतक भुमिश्वर ढकालले बैठकको सुरुमै जानकारी गराए। त्यसलगत्तै एमाले सांसदहरुले लगातार टेबल ठोक्दै होहल्ला गरीरहे। होहल्लाकै बीच सभामुखले संसद अधिवेशन आह्वान र लुम्बिनीमा भएको नयाँ मन्त्रिपरिषद गठनबारे सदनलाई जानकारी गराए। अवरोध नरोकिएपछि बुधबार दिउँसो १ बजेसम्मका लािग संसद बैठक स्थगित गरियो।

शाही र खत्री सुर्य चिन्हबाट निर्वाचित भएको र संसदिय दलको बैठकमा सहभागी भएकाले अन्य दल रोज्न नपाउने दावी एमालेको छ। एमाले सचेतक ढकालले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको आरोप लगाउँदै आफ्ना मागको सुनुवाइ नभएसम्म सदन चल्न नदिने दोहोर्‍याए। सभामुख घर्तीले सचिवालयमा पत्र गएकाले प्रक्रिया पुर्‍याएर त्यसलाई अगाडि बढाइने बताए।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले एमालेले बुझाएको सांसद कारबाहीको पत्रबारे विस्तृत अध्ययन र कानुनी परामर्श लिनु पर्ने भएकाले समय लाग्ने बताएका छन्।  

कता का हुन शाही र खत्री

गठबन्धन सरकारमा मन्त्री रहेका सांंसद अजय शाही ह्रदयेश त्रिपाठी समूहका हुन्। साहिले सुर्य चिन्हबाट स्वतन्त्र रुपमा चुनाव जितेका थिए। उनी पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (ख)बाट निर्वाचित प्रदेश सांसद हुन। आफू स्वतन्त्र रुपमा निर्वाचन लडेर जितेकाले एमालेको ह्वीप नलाग्ने शाहीको दावी छ। कानुनविदहरुसंग रायसुझाव लिएरै अगाडी बढेको भन्दै उनले एमालेको कदमविरुद्ध न्यायालय जाने चेतावनी दिएका छन्।  

सांसद बिमला खत्री वली नेकपाबाट निर्वाचित भएकी हुन। प्रदेश सांसद (बिमलाका पती) उत्तरकुमार वलीको दुई वर्षअघि सडक दुर्घटनामा निधन भएपछि नेकपाले बिमलालाई उपनिर्वाचनमा उम्मेदवार बनायो। २०७६ मंसिर १४ मा दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसदमा उनी निर्वाचित भइन्। सर्वोच्चको फागुन २३ को फैसाला पछि दल रोज्न पाउने अधिकारको प्रयोग गर्दै उनले माओवादी केन्द्र रोजेको बताएकी छन्। गत वैशाख १७ मा उनले नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश सभा दल सदस्यता प्राप्त गरेकी हुन। त्यसयता उनी सदनदेखि सडकसम्मका कार्यक्रममा माओवादी केन्द्रसँगै छिन्। प्रदेश सभा सचिवालयमा उनको विवरणमा दल माओवादी केन्द्र उल्लेख छ।

खत्रीले माओवादी केन्द्र रोजेपछि एमाले दलका नेता तथा निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले उनलाई एमालेमा फर्कन निरन्तर दवाव दिए। एमालेमा फर्कन नमानेपछि साउन १५ गते अपहरण शैलीमा मुख्यमन्त्री निवास ल्याएर पाँच दिन बन्धक बनाएको आरोप पोखरेल माथि लागेको छ। एमालेमा फर्कन निरन्तर दवाव दिएपछि पाँचौ दिनमा त्यहाँबाट भागेर उम्कन सफल भएको खत्रीले पत्रकार सम्मलेन गरेर बताएकी थिइन्।  

मुख्यमन्त्री निवासमा बन्धक बनाइ एमाले संसदीय दल र पार्टीका बैठकका पुराना माइन्युटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पनि उनले बताएकी थिइन्। त्यती गर्दा पनि दवाव, प्रभाव र प्रलोभनमा पार्न नसकेपछि कारबाहीको नाटक गरीएको दावी बिमलाले गरेकी छन्। गत वैशाखमै माओवादी केन्द्र संसदीय दलको सदस्यता लिएको र त्यसबारे प्रदेश सभालाई जानकारी गराएकाले कसैको धम्कीले नडराउने बिमलाले बताएकी छन्।

जसपाकी पदमुक्त सांसद पाण्डेको स्थानमा मुडभरी  

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्मला मुडभरीलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ। यसअघिकी समानुपातिक सांसद कल्पना पाण्डे कारबाहीमा परेपछि उनको स्थानमा मुडभरीलाई पठाइएको हो। कल्पनाले पार्टी निर्णय विपरित शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि जसपाले उनलाई कारबाही गरेको थियो।  

जसपाको केन्द्रीय कार्यकारिणी समितिको सोमबारको बैठकबाटै मुडभरीलाई समानुपातिक सांसद बनाउने निर्णय भइ मंगलबार निर्वाचन आयोगमा पार्टीको सिफारिस दर्ता गरिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जानकारी दिए। निर्मला रुपन्देहीको सियारी गाउँपालिका छपियाकी हुन। लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए। पार्टीको निर्णय र ह्वीप विपरित पोखरेल नेतृत्वको सरकारमा गएका कल्पना पाण्डेसहित प्रत्यक्ष निर्वाचित सांसद सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादवले कारबाहीमा परेर सांसद पद गुमाएका हुन।

८० सदस्यीय प्रदेशसभामा सत्तापक्षसंग काँग्रेसका १९, माओवादी केन्द्रका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ गरी ४३ सांसद छन्।  

जसमध्ये नेकपाबाट निर्वाचित भएर माओवादी केन्द्र रोजेकी बिमला र सुर्य चिन्हबाट स्वतन्त्र जितेका अजय शाहीलाई एमालेले आफ्नो दलको दावी गर्दे कारबाहीको माग गरेको छ। प्रतिपक्ष एमालेमा अहिले ३६ सांसद छन्।

प्रकाशित: १ भाद्र २०७८ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App