सरकारले विभिन्न नीतिगत, अन्तर्राष्ट्रिय सहयोग र प्रशासनिक महत्वका ६ निर्णय गरेको छ।
आजको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ।
यस्तै, आर्थिक क्षेत्रको दीर्घकालीन सुधारलाई लक्षित गर्दै वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ सम्मका लागि स्वीकृत गरिएको छ।
मन्त्रिपरिषद् बैठकले सन् २०२५ मार्चमा गएको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यसैगरी, मानव बेचबिखन नियन्त्रण तथा न्यूनीकरणका लागि मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरिएको छ।
बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्द प्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
प्रकाशित: २८ पुस २०८२ १५:२४ सोमबार





