coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन्। दुवै समूह एकअर्काको निर्णय कुरेर बसेजस्तो देखिएको छ।  

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ। नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै प्रतिक्रिया दिएको छैन। ओली पक्षले नेपाल समूह पार्टीबाट बाहिरिँदा कति असर पर्न सक्छ भनी समीक्षा गरिरहेको छ।

 मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका प्रदेश अध्यक्षले नेपाल पक्ष बाहिरिँदा पर्न सक्ने घाटानाफाबारे रिपोर्टिङ गरेको स्रोतले बतायो। बैठकमा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको विकल्प नभएको बताएका थिए। 

नेपाल पक्षबाट पनि एकताका पक्षमा निरन्तर आवाज उठाउने नेताहरू रहेकाले यस विषयमा ओली आफैंले सहजीकरण गर्नुपर्ने स्थायी कमिटी सदस्य गुरुङको धारणा थियो।  

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षबाट पार्टी संगठनको अवस्थाबारे जानकारी लिने काम भएको बताए। १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय भएको उनले जानकारी दिए। सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन। बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो। 

सोमबारको बैठकमा देउवालाई मत दिने सांसदलाई पार्टीबाट तत्कालै निष्कासन गर्नुपर्ने आवाज उठेको भए पनि मंगलबार भने एकताको पक्षमा आवाज उठेको एक केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीको विवाद निरूपण कार्यदलमा रहेका सुवास नेम्वाङले पार्टी एकताको सम्भावना अझै रहेको बताएका थिए। उनले कार्यदलका कामकारबाहीबारे बैठकलाई जानकारी गराएका थिए।  

नेपाल पक्षले पनि पार्टीभित्र रहँदा वा नयाँ दल खोल्दा केकस्तो हुन्छ भनेर छलफल गरिरहेको छ। सो समूहले तीन चरणमा अहिलेको अवस्थाबारे छलफल गर्ने जनाएको छ। यो समूहमा पनि पार्टी एकताका पक्षमा कुराकानी गर्न नेपाललाई सुझाव दिइएको छ।  

तर आत्मसम्मान गुमाएर भने एकता गर्न नहुने धारणा उनीहरूले व्यक्त गरेका छन्। नेपाल पक्षको भेलामा ओलीको प्रस्तुति र अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकबाट कस्तो निर्णय आउँछ, त्यसै आधारमा अघि बढ्नेबारे छलफल भएको थियो। भेलापछि नेत्री रामकुमारी झाँक्रीले ओली पक्षले सोधेको भनिएको स्पष्टीकरण पत्र आफूहरूकहाँ आइनपुगेको बताइन्। ओलीले बदलाको भावाना छाडेर पार्टी एकताका लागि पहल गरे राम्रो हुने उनको भनाइ छ।

नेपाल समूहको भेलामा केही केन्द्रीय सदस्य तथा सांसदले कानुनले मिल्छ भने नयाँ दल खोलेर अघि बढ्नुपर्ने आवाज पनि उठाएका छन्। उनीहरूले ओलीले सधैं पेल्ने भएकाले नयाँ दल खोल्नुको विकल्प नभएको बताएको स्रोतले जनाएको छ। 

नेपाल समूहका नेताहरू मंगलबार दिनभर आन्तरिक छलफलमा जुटेका थिए। पार्टीका केन्द्रीय सदस्य र देउवालाई विश्वासको मत दिने २२ जना सांसद बेग्लाबेग्लै छलफलमा जुटेका हुन्। नेपाल पक्षले बुधबार स्थायी कमिटीको बैठक बोलाएको छ। बैठकमा एकता र कार्यदलका काम तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा भएको मतभेदबारे छलफल हुने बताइएको छ।  

रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्। सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन्। 

बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्। रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ६ श्रावण २०७८ ००:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App