१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष को ?

राष्ट्रियसभाको अधिवेशन असार १७ गतेबाट सुरु हुँदैछ। अधिवेशनको तयारीका लागि संसद् सचिवालयले गृहकार्य गरिसकेको छ। सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरेपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभा अधिवेशनमा प्रमुख प्रतिपक्षको विषयमा विवाद भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको थियो। उसले अब पनि आफू नै प्रमुख प्रतिपक्ष हुने बताएको छ।  

नेकपा रद्द भइसकेको अवस्थामा भने राष्ट्रियसभामा कांग्रेसभन्दा माओवादी केन्द्र ठूलो दल देखिएको छ। ठूलो दलको हैसियतले प्रमुख प्रतिपक्ष आफू हुनुपर्ने माओवादीको अडान छ। कांग्रेसले प्रतिनिधिसभाको प्रतिपक्ष दल भएकाले राष्ट्रियसभामा पनि प्रमुख प्रतिपक्ष दलको भूमिका आफूले पाउनुपर्ने अडान लिएको छ। दुई दिनअघि कांग्रेसका राधेश्याम अधिकारी, माओवादीतर्फबाट रामनारायण बिडारीलगायतका नेताको बैठक बसेको थियो। प्रमुख प्रतिपक्षी दल के हुने भन्ने विषयमा सहमति नभएपछि छलफल बिनानिष्कर्ष स्थगित भएको थियो। 

१७ गते संसद बैठक बस्नुअघि छलफल गरेर सहमति खोज्न लागिएको राष्ट्रियसभाका सांसद विडारीले जानकारी दिए। उनले भने, ‘यो विवाद भएको हैन, के हो भनेर छलफल गरेको हो। यसमा खाली राजनीतिक सहमति गर्ने कुरा हो। हामी १७ गतेको संसद् बैठक बस्नुअघि निष्कर्षमा पुग्नेछौं।’ प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा कांग्रेस सांसद राधेश्याम अधिकारीले लिएका छन्। विपक्षी दलको भूमिकामा कांग्रेस रहेन भने उनको सुविधा खोसिनेछ।  

राष्ट्रियसभाको नियमावली २०७५ को परिभाषा खण्डको (ण) मा विपक्षी दलको नेता भन्नाले प्रतिनिधिसभाको विपक्षी दलको नेताले राष्ट्रियसभाको विपक्षी दलको नेता भनी मनोनयन गरी सूचना गरेको सदस्य सम्झनुपर्छ भनिएको छ भने सुविधासम्बन्धी ऐन २०७३ मा सांसद संख्यामा फेरबदल भएमा पछिल्लोलाई मान्नुपर्ने उल्लेख छ।  

स्रोतका अनुसार राष्ट्रियसभाको नियमावलीबमोजिम जाने हो भने प्रमुख प्रतिपक्ष दलको भूमिका कांग्रेसले नै पाउँछ। प्रतिनिधिसभामा पनि कांग्रेस नै प्रमुख प्रतिपक्षी दल हो। तर ऐनबमोजिम जाने हो भने माओवादी केन्द्रले प्रतिपक्षको भूमिका पाउनेछ। संसदीय व्यवस्थामा संसद्को बैठकभित्र हुने गतिविधिमा संसद् नियमावली नै आकर्षित हुनेगर्छ। अधिवेशनमा एमाले र माओवादी एकीकरण हुँदाका बखत सांसद भएका १६ जनामध्ये ७ जनाले माओवादी रोजेको संकेत गरेका छन् भने ८ जनाले एमाले रोजेको संकेत गरेका छन्। 

तर एमाले खेमाभित्रका बेदुराम भुसाल भने स्वतन्त्र सिटमा बस्ने भएका छन्। उनले भने, ‘मैले स्वतन्त्र सांसदको हैसियतमा बस्न संसद् सचिवालयमा निवेदन दिएको छु। राष्ट्रियसभा अध्यक्षले सिटको व्यवस्था मिलाउनुहुनेछ।’ राष्ट्रियसभामा एमालेका ३४, माओवादीका १४, कांग्रेसका ७ जसपाका ३ र स्वतन्त्र एक सांसद छन्। अधिवेशनमा बजेटसम्बन्धी अध्यादेशसहित अन्य अध्यादेश पेस हुनेछन्।

प्रकाशित: १६ असार २०७८ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App