१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेका पुराना कमिटी ब्युँताउने तयारी

नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो।

एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै आएको थियो। ओलीले त्यसलाई बेवास्ता गरेपछि नेपाल समूहले समानान्तर कमिटी बनाएर चुनौती दिएको थियो। त्यतिमात्र नभएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेपछि अध्यक्ष एवं प्रधानमन्त्री ओली केही दिनमै सबै कमिटी पुरानै अवस्थामा पुर्‍याउने तयारीमा देखिएका हुन्। यसका लागि अनौपचारिक रुपमा छलफल गरिरहेका ओली र नेपाल पक्षीय नेताहरूले सहजीकरण गरेका थिए। एमाले स्रोतका अनुसार गत फागुन २८ गतेपछि दुवै तर्फबाट गरिएका सबै निर्णय बदर हुनेगरी सहमति गरिएको छ। १६ गते यी सबै निर्णय बदर भएको घोषणा गर्दै पदाधिकारी र स्थायी कमिटी बैठक बोलाइने स्रोतले बतायो।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुसल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्यले निरन्तर संवाद गरिरहेका थिए। उनीहरूले बुधबारदेखि नै विवाद निरुपणका लागि मस्यौदा बनाएर छलफल गरेका थिए। मस्यौदामाथि दुवै पक्षका नेताले शुक्रबारसम्म छलफल गरी सोही दिन राति ओली र नेपाललाई बुझाएका छन्। ओली र नेपालले भने यसबारेमा प्रतिक्रिया जनाएका छैनन।

नेपालले शनिबार विपक्षी दलको गठबन्धनलाई बलियो साथ रहेको बताएका थिए भने ओलीले आइतबार उनी पक्षधर स्थायी कमिटी सदस्यको बैठक राखेका थिए। बैठकमा सहभागी सबैले विवाद मिलाउनुपर्नेमा जोड दिएका थिए। बैठकमा नेपाल समूहसँग भएको कुराकानीबारे समेत छलफल भएको थियो। त्यस्तै माओवादीबाट आएका सबैलाई तत्काल बाहिर राखेर २०७५ जेठ २ गतेअघिका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकबाट मनोनयन गर्ने विषयमा छलफल भएको थियो। माओवादीबाट भित्रिएका नेताले विवाद मिलाउन गरिएको प्रकृया आफूहरूलाई मान्य रहेको बताएका थिए। बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले विवाद मिलाउने विषयमा प्रयास जारी रहेको बताए। ‘हामी अझै पनि कोसिस गरिरहेका छौं। अब बस्ने बैठकले आवश्यक निर्णय लिनेछ’, ज्ञवालीले भने। उनका अनुसार असार १६ गते बस्ने बैठकमा जेठ २३ गते अध्यक्ष ओलीले पार्टीको विवाद निरुपणका लागि राखेको ६ बुँदे प्रस्तावबारे छलफल हुनेछ।

जेठ २३ गते ओलीले नेकपा एमालेलाई २०७५ साल जेठ ३ गतेको अवस्थाबाट अगाडि बढाइने र माओवादीबाट एमालेमा आएका नेतालाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने जनाएका थिए। मातहतका पार्टी कमिटी र जनसंगठन २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने, संगठनात्मक क्षेत्रका यी निष्कर्ष कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने, विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएका एमाले निवर्तमान सांसदका हस्ताक्षर फिर्ता हुने, यसबीचमा विभिन्न नेताबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र कुनै भेदभाव नगरिने र एमालेलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपले एकताबद्ध, अनुशासित र सुदृढ बनाउन सबैले रचनात्मक योगदान गर्ने ओलीले उल्लेख गरेका थिए। तर नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने र जेठ २ को कमिटी ब्युँताउन कुनै पनि सर्त लागु नहुने बताएपछि एमालेको विवाद ज्युँका त्युँ थियो। अहिले भने ओलीले २०७५ जेठ २ का सबै कमिटी ब्युँताउने तयारी थालेका हुन्।

नेपाल समूहका नेता वेदुराम भुसालले भने ओलीको तयारीबारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘नेता नेपाललाई कहिले अध्यक्ष, कहिले प्रधानमन्त्री बनाउने भनेर हल्ला चलाइएको छ। नेपालसँग नै यो कुरा कसैले गरेको छैन।’ नेपालले भने प्रधानमन्त्रीको प्रस्ताव आएको शनिबार बताएका थिए। ‘उहाँ (नेपाल) सँग केही प्रस्ताव आएको छैन। सल्लाह–सहमति केही पनि छैन। ओलीले जे प्रस्ताव राख्न खोजेको त्यो सीधा आउनुपर्‍यो’, नेता भुसालले भने। उनका अनुसार ओलीका तर्फबाट ठोस प्रस्ताव आएको छैन। ‘ओलीको तहबाट केही भएको छैन। ओलीभन्दा तलबाट गरेर के हुन्छ र’, उनले भने।

यसअघि पनि ओली पक्षले नेपाल पक्षलाई जेठ २ कै अवस्थामा स्थायी कमिटीको बैठक बसौं भनेर खबर गरेको थियो। असार २ मा स्थायी कमिटी बैठक राख्ने गरी गरिएको खबरलाई नेपाल पक्षका नेताले सहमतिबिना बैठकमा के भनेर जाने भन्दै अस्वीकार गरेका थिए। त्यसपछि दुवै पक्षका नेताले निरन्तर संवाद गरेपछि महाधिवेशन आयोजक कमिटी खारेज तथा फागुन २८ पछिका सबै निर्णय बदर हुनेगरी कुरा अघि बढेको छ। 

स्रोतका अनुसार दुवै नेताको हातमा पुगेको मस्यौदामा एमाले नेतृत्वको सरकार निरन्तर लेख्ने कि ओली नेतृत्वको सरकार निरन्तर लेख्ने भन्नेमा सहमति जुटेको छैन। विवाद मिलाउन अहिले ओली र नेपाल दुवैलाई आआफ्ना समूहका नेताले निरन्तर दबाब दिइरहेका छन्। ओली समूहमा पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, छविलाल विश्वकर्मा, किरण गुरुङलगायतले दबाब दिएका छन् भने नेपाल समूहमा अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, सोमप्रसाद पाण्डेलगायतले दबाब दिइरहेका छन्।

प्रकाशित: १४ असार २०७८ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App