२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चार पदाधिकारी चारतिर हुँदा बिपीमा समस्या

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चारजना पदाधिकारी चारतिर फर्किँदा समस्या चुलिएको कर्मचारीहरूले गुनासो गरेका छन्। धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबारको अन्तर्क्रिया मा प्रतिष्ठानका कर्मचारीले समस्या चारजना पदाधिकारीमै रहेको औंल्याएका हुन्। उनीहरूले चारजना पदाधिकारीलाई आपसमा मिलेर नै प्रतिष्ठानलाई सही बाटोमा हिँडाउन आग्रह पनि गरेका छन्। सञ्जालले प्रतिष्ठानको विभिन्न महाशाखा र शाखा प्रमुखसँग अन्तक्र्रिया गरेको हो। महशाखा तथा शाखा प्रमुखहरूले आ–आफ्नो कार्यक्षेत्रको समस्याबारे जानकारी गराउँदै चारजना पदाधिकारी नमिलेकै कारण समस्या चुलिँदै गएको जिकिर गरेका थिए।  

‘हामीले पत्रपत्रिकामार्फत सुन्दै आएका थियौं, पदाधिकारीहरू मिल्दैनन् भन्ने। आज कर्मचारीले पनि भने, पदाधिकारीहरू एक ढिक्का छैनन्,’ दबाब सञ्जालका संयोजक एवं सहप्रध्यापक डा. राजेन्द्र शर्माले भने, ‘मुहान नै फोहोर छ। कर्मचारीहरूले नियुक्ति प्रक्रियामै समस्या छ भनेर पनि भने।’  

प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले पछिल्लो समय बिपी प्रतिष्ठानलाई भ्रष्टचारको अखडा भएको स्थापित गर्न केही समूह लागिपरेको बताए। उनले पदाधिकारीहरू मात्र नभई विभागीय प्रमुख, चिकित्सकहरू, शाखा र महाशाखा प्रमुखहरू सबै राजनीति मात्र गर्ने गरेको भन्दै आलोचना गरे। ‘सबै राजनीति मात्र गर्छन्, अनि कसरी संस्था अघि बढ्छ ?’उनले भने,‘४ जना पदाधिकारीहरू नियुक्त भएर आएपछि एकपटक पनि शाखा, महाशाखा प्रमुखहरूलाई राखेर छलफल गरिएको छैन। कार्यकारिणी समिति बसेर त निर्णय हुन सकेको छैन। कमजोरी सबैको छ।’ उनले पहिला ४ जना पदाधिकारीहरू नै सुध्रिएर आउनुपर्ने पनि बताए।

कर्मचारी प्रशासन शाखाका महेश्वर राईले अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्दा सबै ध्वस्त हुने भन्दै चार जना पदाधिकारी एकजुट हुनुपर्नेमा जोडदिए। धरानमा ९ राजनीतिक दल मिलेर बिपी प्रतिष्ठान सुधार हुनुपर्छ भनेर आवाज उठाइरहेको उदाहरण दिँदै उनले भने,‘अहिले ४ जना नै डाक्टर हुनुहुन्छ। ९ वटा दल त मिलेर बिपी सुधार हुनुपर्छ भनिरहेका छन्, भने ४ जना यहाँका पदाधिकारी एक हुने कि नहुने ?’ उनले चारै जना पदाधिकारीहरू डाक्टर भए पनि एमआरआई, सिटिस्क्यानलगायत अत्यावश्यक मेसिनहरू खरीद नभएकोमा पनि प्रश्न गरेका थिए। ‘चारै जना पदाधिकारी डाक्टर हुनुहुन्छ, कार्यकारिणी समितिमा पनि डाक्टर हुनुहुन्छ, तर एमआरआई, सिटिस्क्यान मेसिन किन आउँदैन ? त्यसको महत्व डाक्टरलाई थाह हुन्छ,’ राईले भने, ‘कर्मचारीहरू विगत १५ वर्षदेखि वृत्ति विकास भएको छैन, त्यसले नैराश्यता छ।’

प्रतिष्ठानकी मेट्रोन गायत्री राईले पनि पदाधिकारीहरू एक नहुँदा काम गर्ने सहज वातावरण नभएको बताइन्। आफूहरू व्यवस्थापनको दोस्रो तहको व्यक्तिहरू भएको भन्दै उनले चार जना पदाधिकारी चारतिर हुँदा समन्वयमा पनि समस्या भइरहेको बताइन्। ‘काम गर्ने वातावरण भयो भने राम्रो हुन्छ, तर चारजना चारतिर फर्केर समस्या भएको हो,’ उनले भनिन्, ‘हामीले तल्लो तहको कर्मचारीको चित्त बुझाउनुपर्ने हुन्छ, चारजना एक नहुँदा गाह्रो छ।’

कर्मचारी प्रशासन शाखा प्रमुख उमेश कोइरालाले पदाधिकारी नियुक्तिमा नै समस्या भएको औंल्याए। उनले पदाधिकारीहरू प्रशासनिक दक्षता भएको व्यक्ति नै नियुक्ती गरिनुपर्ने धारणा राखे। अन्तक्र्रियामा राजनीतिक दलहरूको तर्फबाट बोल्दै सुजेन्द्र गोले तामाङले रजिष्ट्रारमा नियुक्त भएपछि नियमावलीले तोकेको भन्दाविपरीत प्रतिष्ठानको चिकित्सकको हैसियतमा डा. रेग्मीले तलब र सतप्रतिशत आकर्षण भत्ता पनि लिइरहेको भन्दै प्रश्न उठाएका थिए।  

परीक्षा शाखा प्रमुख प्रकाश श्रेष्ठले बिपीको एउटा नराम्रो घटनाको चर्चा साताभरि मिडियामा छाइरहने तर राम्रो काम भएका ओझेलमा पर्ने भन्दै गुनासो राखे। ‘बिपीको राम्रो कामको चर्चा नै हुँदैन। यहाँको उत्पादनहरू विश्वको जुनसुकै कुनामा पनि आफूलाई अब्बल सावित गरेका छन्, यहाँ जुन मूल्यमा विशेषज्ञ सेवा पाउँछन्, अरूतिर छैन,’ उनले भने।

प्रकाशित: ७ असार २०७८ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App