७ वैशाख २०८१ शुक्रबार
राजनीति

ठाकुर–महतोलाई ८ मन्त्रालय

जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले ८ वटा मन्त्रालय पाउने भएको छ। सरकारमा जान ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मन्त्रालय बाँडफाँडमा सहमति गरेको ठाकुर पक्षका नेता प्रमोद साहले बताए। उनका अनुसार एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनुसार ठाकुर पक्ष गृह मन्त्रालयबिनै सरकारमा सहभागी हुन लागेको हो। सो समूहले गृह मन्त्रालयमा पाउनुपर्ने दाबी गर्दै आएका थियो।

प्रधानमन्त्रीसँग वार्ता गर्न सोमबार जसपा अध्यक्ष ठाकुर, नेता महतो, शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पुगेका थिए। ‘प्रधानमन्त्रीज्यू ७ वटा मन्त्रालय दिन तयार हुनुभएको छ। हामीले ८ वटामा अडान राखेका छौं’, वार्तामा सहभागी एक सदस्यले भने, ‘त्यसैले ८ वटा मन्त्रालयमै सहमति भयो भने पनि हुन्छ।’ उनले आफ्नो नाम खुलाउन चाहेनन्।

प्रधानमन्त्रीसँग कुराकानीपछि ठाकुर–महतो पक्षले आन्तरिक छलफल गरेको थियो। सरकारमा पठाउने नेताहरूबारे कुराकानी भएको स्रोतले बतायो। स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना छ। ठाकुर पक्षले उनलाई संसदीय दलको नेता बनाएको छ। 

सरकारमा जान शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले पनि इच्छा देखाएका छन्। उनीहरूको सम्भावना प्रबल रहेको स्रोतले बतायो। उपेन्द्र यादव पक्षबाट कित्ता परिवर्तन गरेका सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुहीनाथलाई मन्त्री बनाउन ठाकुरलाई दबाब बढेको छ। यीमध्येबाट अरगरैया र श्रीवास्तवको सम्भावना रहेको स्रोतले बतायो। यसैगरी प्रमोद साहलाई पनि मन्त्री बनाउन ठाकुर—महतो पक्षलाई दबाब छ। ठाकुरका सम्धी उमाकान्त झा पनि मन्त्री बन्ने प्रबल सम्भावना छ।

उनी यसअघि ठाकुरकै सिफारिसमा प्रदेश ५ को प्रदेश प्रमुख भएका थिए। स्रोतका अनुसार सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी तथा विर्खेशचन्द्रलालले पनि सरकारमा जान इच्छा देखाएका छन्। संसद विघटन भएको अवस्थामा गैरसांसदलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई छुट छ। मन्त्री हुन इकवाल मिया तथा चन्द्रकान्त चौधरीले पनि इच्छा देखाएका छन्। 

प्रधानमन्त्रीसँग अहिले रक्षासहित ८ वटा मन्त्रालय खाली छन्। गृह, जलस्रोत तथा ऊर्जा, सहरी विकास, श्रम तथा रोजगार, युवा तथा खेलकुद, खानेपानी, उद्योग, वाणिज्य तथा आपपूर्ति मन्त्रालय मन्त्रीविहीन छन्। यिनै मन्त्रालय ठाकुर–महतो पक्षलाई दिन ओली तयार भएको स्रोतले बतायो। यसैबीच ठाकुर—महतो पक्षले सरकारमा जानुअघि नै आफ्नो पक्षको आधिकारिकता जुटाउन प्रयास गर्ने भएको छ। जसपाको उपेन्द्र्र यादव पक्षले ठाकुर–महतो पक्ष सरकारमा जानेबित्तिकै पार्टीबाट निष्कासन गर्ने बताएको छ। जसपाको कार्यकारिणी समितिमा यादव बहुमतमा छन्।

जसपाले निर्वाचन आयोगमा पठाएको विधानमा सकेसम्म सहमतिबाट निर्णय गर्ने, सहमतिबाट निर्णय हुन नसके बहुमतबाट निर्णय गर्ने भनिएको छ। विधानको यही धारा प्रयोग गर्दै यादव पक्षले ठाकुर–महतो पक्षका नेतालाई कारबाही गर्ने तयारी भएको छ। त्यस अवस्थामा जसपाबाट सरकारमा जानेहरूले कानुनी रूपमा पार्टीकोे प्रतिनिधित्व गर्नेछैनन्। 

प्रधानमन्त्री र जसपाका नेताहरूबीच भएको वार्तामा यसबारेमा पनि कुराकानी भएको स्रोतले बतायो। त्यो अवस्था आएमा कानुनी अड्चन हटाउन ठाकुर पक्षले प्रधानमन्त्रीसँग सहयोग मागेको स्रोतको भनाइ छ। ‘त्यसैले सरकारमा जानुअघि नै कार्यकारिणीमा बहुमत जुटाउन ठाकुर—महतो सक्रिय भएका छन्’, स्रोतले भन्यो। यता अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर–महतो पक्षका नेतालाई कारबाही गर्न सबै कानुनी प्रक्रिया पूरा गरेका छन्। ‘हामी अझै पनि उहाँहरू सही बाटोमा फर्कनुहुनेछ भन्ने आशामा छौं’, यादवले भने, ‘तर कार्यकारिणी समितिको निर्णयविपरीत उहाँहरू सरकारमा जानुभयो भने पार्टीले निष्कासन गर्नेछ। यो कार्यकारिणीको निर्णय हो।’

प्रकाशित: १८ जेष्ठ २०७८ ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App