१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश २ मा सरकारविरुद्ध प्रदर्शन

चार सय ४३ संक्रमित थपिए

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रीपाठी र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

कोरोना संक्रमण दर लगातार बढ्दै जाँदा संक्रमितको भरपर्दो उपचार व्यवस्थापन गर्न नसकेको भन्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका पदाधिकारीहरुले स्वास्थ्य मन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग गर्दै शनिबार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको मुल गेटमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीले स्वास्थ्य मन्त्री, सामाजिक विकास मन्त्री, मेडिकल सुपरिटेन्डेन्टविरुद्ध चर्को नाराबाजी गरेका थिए । विद्यार्थीहरुले निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, स्वास्थ्य मन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजीनामा दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

उपचार अभावमा दिनदिनै संक्रमित बिरामीहरुले ज्यान गुमाइरहेको भन्दै नेविसंघका विद्यार्थीहरुको आरोप छ । यहाँका चिकित्सकले संक्रमितका कुरुवालाई अक्सिजन र भेन्टिलेटर बाहिरबाट व्यवस्था गरेर ल्याएमा मात्रै उपचार गर्ने भन्दै अन्यथा बिरामीलाई लैजान दबाब दिइरहेको आरोपसमेत लगाए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार ४४३ जना संक्रमित थपिएका छन । यससँगै यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ८५६५ पुगेको छ । धनुषामा ११५, महोत्तरीमा ३२, सर्लाहीमा १०, रौतहटमा ४९, बारामा २३, पर्सामा ९९, सिरहामा ७ र सप्तरीमा १०४ जना संक्रमित थपिएका छन् ।

प्रकाशित: १ जेष्ठ २०७८ १५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App