९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्व सांसद अरविन्द ठाकुरको निधन

काठमाडौं– राष्ट्रिय सभाका पूर्वसांसद एवं जिउँदा शहीद अरविन्द ठाकुरको निधन भएको छ। ढाडको समस्याबाट पीडित ठाकुरको ६५ वर्षको उमेरमा सोमबार बिहान ६ बजे उपचारका क्रममा ललितपुरको बीएन्डबी अस्पतालमा निधन भएको हो।नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय ठाकुर वि.सं. २०१७ पुष १ गते त्तकालीन राजा महेन्द्रले प्रजातन्त्र अपदस्थपछि पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय थिए। २०१८ माघ ९ गते जनकपुर भ्रमणमा रहेका राजा महेन्द्रलाई बम प्रहारपछि राजनीतिको चार्चामा रहेका ठाकुरले सोही आरोपमा जनकपुर विमानस्थलमा नै पक्राउ परेका थिए।

तत्कालीन सरकारले राजकाज मुद्दामा उनलाई फाँसीको सजाय सुनाए पनि नावालक भएको भन्दै कैद सजाय मात्र भोगेका थियो। सोही काण्डमा दुर्गानन्द झासहितलाई त्तकालीन सरकारले फासी दिएको थियो। २०१८ को बम काण्डमा ठाकुर १३ वर्षमा मात्र रहेका ठाकुरले २०३४ सम्म जेल सजाए भोगेका थिए।

चरमशारीरिक यातनाका कारण लामो समय देखि ढाडको समस्याबाट पिडीत ठाकुर २०५६ मा कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य थिए। उनलाई भदौ २४गते 'बी.पी. राजनीतिक पुरस्कार'प्रदान गरेको थियो।

सभापति सुशील कोइरालाले ठाकुरको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहसहित कांग्रेसका नेता तथा कार्यकर्ता श्रद्धाञ्जली दिन सानेपा पुगेका थिए। सभापति कोइरालाले ठाकुर नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रेरणाको स्रोत भएको बताए। ठाकुरले पुर्‍याएको योगदान कांग्रेस र प्रजातान्त्रिक आन्दोलनमा संधै स्मरणीय रहने कोइरालाले बताए ।

ठाकुरको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे सम्म राखिएको थियो। उनको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ठाकुरको श्रीमती, दुई छोरा र एक छोरी छन्।

यसैबीच कांग्रेसले ठाकुरको सम्मानमा सोमबार र मंगलबार केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । त्यस्तै, ठाकुरको गृह जिल्ला धनुषामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

प्रकाशित: १० मंसिर २०७० ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App