७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओली र माओवादीबीच साँठगाँठको आशंका छ’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गरेका छन् । बुधबार बरगाछी युवा समूहले विराटनगरमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा कोइरालाले सरकार र माओवादीबीच अझै पनि साँठगाँठ रहेको आशंका गर्ने स्थिति देखिएको बताएका हुन्।  

सरकार संसद्लाई बिजनेस नदिने र सभामुख पनि बहाना देखाएर संसद् अघि बढाउन नचाहने पवृत्तिले सरकार र माओवादीबीच भित्री साँठगाँठ छैन भनेर भन्न सकिने अवस्था नरहेको कोइरालाले बताए। ‘सरकारले बिजनेस नदिँदैमा संसद्को सबै काम रोकिँदैन,’ डा. कोइरालाले भने, ‘उपभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन सभामुखलाई कसले रोकेको छ?’ प्रधानमन्त्री र सभामुखले संसद् सञ्चालनमा चासो नै नदेखाएको कोइरालाको आरोप छ। 

प्रधानमन्त्री र सभामुखकै कारण संसद् अनिर्णयको बन्दी बनेको उनले बताए। ‘सरकार बिजनेस नदिने र सभामुखले लाचार बनेर छाया सभामुखको भूमिका निर्वाह गर्दा समस्या आएको छ,’ डा. कोइरालाले भने। सरकार जति दिन बस्छ, त्यति नै दिन अराजकता बढ्ने उनले बताए। हालको राजनीतिक अवस्थालाई कांग्रेसबाहेक अरू कसैले निकास दिन नसक्ने भएकाले अब कांग्रेसले सार्थक पहल गर्ने बेला आएको उनको भनाइ थियो । ‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुप¥यो कि त अरूलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो होइन भने ओलीसँगै मिलेर जाने भन्नुप¥यो,’ कोइरालाले भने, ‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’  

उनले नेपाली कांग्रेस भूमिकाविहीन भएर बस्नु देश र लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण भएको बताए। कांग्रेसका नेताहरू अलमलमा परिरहँदा देश राजनीतिक समस्यामा लामो समय अल्झिरहने स्थिति उत्पन्न भएको उनको भनाइ छ । बिपीसँग, गणेशमानसँग, गिरिजाबाबुसँग काम गरेका नेताहरू अलमलिइरहनु आश्चर्यजनक भएको उनको टिप्पणी छ। 

प्रकाशित: २ वैशाख २०७८ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App