३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेश : तीन मन्त्रीद्वारा सामूहिक राजीनामा

राजीनामापछि पत्रकार सम्मेलनमा तीन जना मन्त्रीहरु । मन्त्रालयबाट हिँडेर दलको बैठकमा सहभागी हुन जाँदै मन्त्रीहरु ।

नेकपा एमालेकातर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको मन्त्रिमण्डलमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन्। उनीहरुले मुख्यमन्त्री शाहीलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।  

चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा सहभागी मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो। ‘संसदीय दलले माओवादी केन्द्र नेतृत्वको समर्थन फिर्ताको निर्णयसँगै सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ताको निर्देशन दिएको थियो,’ ज्वालाले भने, ‘दलको निर्णयलाई स्वीकार गर्दै सरकारबाट बाहिरिने निर्णय गरेर सामूहिक राजीनामा दिएका हौं।’

एमालेकातर्फबाट २०७४ फागुन ६ गते चार जना मन्त्रीहरु माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी थिए। ति मध्येका एक भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई अघिल्लो वर्ष मुख्यमन्त्री शाहीले वर्खास्त गरेका थिए।  

राजीनामापछि ज्वालाले आफूहरुले प्रदेशको जग बसाउन सफल भएको बताए। ‘संघीय सरकारले कानुन र बजेटमा बाँधे पनि हामीले प्रदेशको जग बसाउन सफल भयौं,’ उनले भने, ‘दुई दर्जन बढी कानून निर्माण, सबै जिल्लामा प्रदेशका संरचना स्थापना र आयोगहरु यो अवधिमा बनाउन सफल भयौं।’ उनले ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको प्रदेशको विकासको जग बसाल्न पनि आफुहरु सफल भएको बताए। उनले सुरुमै प्रदेशको नामाकरण र राजधानी तोक्न आफूहरु सफल भएको बताए। यस्तै सामाजिक सुरक्षाको क्षेत्रमा पनि आफूहरु सम्मिलित सरकारले महत्वपूर्ण कामहरु गरेको दावी गरे।

सामूहिक राजीनामामा आफूहरुले प्राप्त गरेको जिम्मेवारीलाई योग्यता र क्षमताले भ्याएसम्म कर्णाली प्रदेशका नागरिकहरुलाई साक्षी राखेर निष्ठापूर्वक काम गरेको उल्लेख छ। ‘२०७४ फागु ६ गतेदेखि आजका मितिसम्म प्रदेश सरकारका मन्त्रीका रुपमा काम गर्न पाउँदा एतिहासिक जिम्मेवारीको महशुस भएको छ,’ राजीनामामा भनिएको छ, ‘हामीले आजका दिनसम्म सम्हाल्दै आएको जिम्मेवारीबाट बाहिर रहेपनि प्रदेशसभा सदस्यका रुपमा कर्णाली प्रदेशको विकास र समृद्धिको यात्रामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं।’

राजीनामापत्रमा एकातिर भौतिक, प्रशासनिक एवम् कानूनी संरचनाहरुको संस्थागत विकास र अर्कोतर्फ विकास र आधारभूत सेवा सुविधाको जनता समक्ष अनभूत गराउने कुराहरु चुनौतिहरुका रुपमा रहेपनि त्यसतर्फका सकारात्मक प्रयासहरुलाई सकेसम्म सफलताका साथ अघाडी बढाउने काममा आफूहरु प्रयासरत रहेको उल्लेख छ। यस्तै फागुन २३ गते सर्वोच्च अदालतले दुई पार्टीलाई साविककै अवस्थामा पुर्‍याएपछि उत्पन्न भएको राजनीतिक परिस्थितिका कारण संसदीय दलले गरेको निर्णय अनुसार नैतिक र राजनीतिक मूल्य मान्यताहरुलाई स्थापित गर्दै विभागीय जिम्मेवारीबाट संयुक्त राजीनामा दिएको उल्लेख छ।  

‘करिव तीन वर्षको अवसरमा सहयोग गर्ने प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, सहकर्मी मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेतालगायत सबै माननीय सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं,’ राजीनामापत्रमा भनिएको छ, ‘विभागीय जिम्मेवारीमा नरहेपनि प्रदेशको समृद्धि र विकासमा निरन्तर सक्रिय रहनेछौं।’

हिँडेरै दलको बैठकमा गए मन्त्री

सामूहिक राजीनामा लगत्तै तीनै जना मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्रालयको सभा हलबाट हिँडेरै संसदीय दलको बैठकमा भाग लिन पुगेका थिए। मन्त्रालयदेखि दलको बैठक हुने स्थान एक किलोमिटर टाढा छ। ‘राजीनामा लगत्तै हामीले गाडी, सरक्षाकर्मी र सबै सुविधाहरु फिर्ता गरेका छौं,’ ज्वालाले भने, ‘प्रदेशसभा सदस्यको हैसियतमा मात्रै रहन्छौं।’

प्रकाशित: २४ चैत्र २०७७ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App