८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि हतारमा संसद अधिवेशन अन्त्यको निर्णय

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेशमा सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने  छ । भोली दिउँसो भने सदन चल्ने छ । सोमबार पनि प्रदेशसभाको बैठक बसेको थियो । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बिजनेशन नभएका कारणले प्रदेशसभाको अधिवेशन अन्त्य गर्नु गरेको बताए । ‘बजेट अधिवशेनको तयारीमा जुटनु पर्ने छ । यो अधिवेशनकालागि सरकारसंग बिजनेश पनि भएन’मन्त्री चौधरीले भने । सरकारका  प्रवक्ता चौधरीले त्यसो भनेपनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा तीन दल जुटेपछि सरकारले हतारमा अधिवेशन अन्त्यको निर्णय गरेको हो ।

मुख्यमन्त्री पोख्रेलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले हस्ताक्षर सुरु गरेका हुन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर गरेपनि जसपामा भने आन्तरिक विवाद देखिएको श्रोतको दावी छ । प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ती मध्ये तीन जनाले हस्ताक्षर गरेपनि तीन जना सोमबारसम्म राजी नभएको बताइएको छ । तर तीनलाइ पनि मनाउने प्रयास भइरहेको जसपाकै एक जना नेताले बताए । जसपाको केन्द्रको विवादको असर प्रदेशमा देखिएको हो ।  

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ । एमालेकै दुई प्रदेश सभा सदस्य माधव नेपाल समूहमा छन् । माओवादीका दुई जना सांसदले माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । दल परिर्वतन गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारवाही गर्दै प्रदेश सभामा जानकारी दर्ता गरिसकेको छ । मंगलबार हुने प्रदेश सभा बैठकको कार्यसूचिमा त्यसलाई समावेश गरीएको बताइएको छ ।  

एमाले प्रवेश गरेका सांसदलाई कारवाहीको सिफारिस गरेसंगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको हो । सोमबारको बैठकले कर सम्वन्धी निर्णय पनि पारित गरेको छ । चैत १८ गते देखि सुरु भएको चालु अधिवेशनमा सोमबारसम्म जम्मा ४ वटा बैठक बस्यो ।  

धरापमा परेका मुख्यमन्त्री भन्छन् : प्रतिपक्षले मिलेर गरौं भन्छ भने तयार छु

सरकार धरापमा परेपछि मुख्यमन्त्री पोख्रेलले सदनबाटै सरकारको बचाउ गरे । सिमित सत्ता स्वार्थबाट हुने हलचलबाट प्रदेश सरकार प्रभावित नहुने दावी गरे । संसद बैठकमा उनले माओवादी केन्द्र तर्फ संकेत गर्दै प्रदेश सरकारको ट्रयाक खलबल्याउने प्रयासमाथि बाटै भएको बताए ।  

केन्द्रीय राजनीतिलाई गलत बाटोमा लैजाने प्रयासलाई रोक्न आफुले भूमिका खेलेकाले प्रदेश सरकारलाइ तारो बनाइएको बताए । प्रदेश सरकारकालाई अस्थिर बनाउने कोशिस किमार्थ सफल हुन नदिने पनि दावी गरे । मुख्यमन्त्री पोखरेलले प्रतिपक्षलाइ मिलेर काम गर्न आब्हान पनि गरे । ‘संघियता कार्यान्वयनका लागि प्रतिपक्षले मिलेर काम गरौं भने पनि तयार छु । अहिलेको मुख्यमन्त्री भन्दा बृहत्तर विकल्प दिन सक्छौं भनेर खुलस्त हुने हो भने पनि तयारै छौं’ मुख्यमन्त्री पोख्रेलले भने । माओवादी तर्फ संकेत गर्दै उनले भने ‘सत्तामा बसेर सत्तालाई नै कमजोर बनाउनु नसुहाउने खेल हो’ । लुकेर विकल्प खोज्नु भन्दा सत्तामा नबस्नेहरुका लागि छलफल गर्न सकिने उनले बताए ।

प्रकाशित: २३ चैत्र २०७७ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App